पहिले राजाहरुको सभास्थल, अहिले गाउँपालिकाको केन्द्र

– प्रेम सुनार
गुल्मी: बाइसे-चौबिसे भुरे-टाकुरे राज्यकालमा गुल्मीको ७ सय धुर्कोट राज्यमा तत्कालिन राजा र भद्र भलाद्मीहरुले सबै खाले निर्णय गर्ने सभास्थल बनेको ऐतिहासिक बर्बोट चौतारोलाई हालको धुर्कोट गाउँपालिकाले संरक्षण गर्न सुरु गरेको छ।

‘उति बेला धुर्कोट राज्यले राज्यभरका रैती (जनता)लाई न्याय-निसाफ दिने अदालत जस्तै पनि थियो। यहि चौतारामा बसेर ठूल्ठूला निर्णयहरु पनि गरिन्थ्यो।’ बरबोटका ९६ वर्षिय वृद्ध यदुलाल घिमिरेले भने, ‘यो ऐतिहासिक चौतारी हो।’

त्यस्तै गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीले भने, ‘अहिले मदाने गाउँपालिकामा गभिएको साविक भनभने गाविस समेत धुर्कोट राज्य भित्र पर्ने र धुर्कोट‌ भरका जनतालाई न्याय निसाफ दिने चौतारो थियो रे त्यहाँ, त्यसैले हिजोको चिनोलाई संरक्षण गर्न लागेका हौँ।’

त्यसै वर रुखको चौताराको नामबाट वर्बोट नामाकरण गरिएको उनको भनाई छ। ‘उक्त चौताराको नामोनिशान मेटिएको थियो।’ धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, ‘यसर्थ त्यस ऐतिहासिक चौतारोलाई संरक्षण गर्न सुरु गरेका छौँ।’

त्यस स्थानमा शानदार चौतारो निर्माण गरी वरको बिरुवा रोपण गरिएको छ। गाउँपालिका प्रमुख पोखरेल, उपप्रमुख खत्री, प्रमुख प्रशासकिय अधिकृत काँशीराम पन्थी सहभागी भई उनै ९६ बर्षीय वृद्ध घिमिरेबाट वृक्षारोपण गराईएको थियो।

संयोगः त्यसै वरबोटमा धुर्कोट गाउँपालिकाको केन्द्र बन्न पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय