देउवाको दौडधूप: ३ प्रदेशका नेताहरुसँग छलफल गर्दै
काठमाडौँ । भदौमा तोकिएको नेपाली काँग्रेसको महाधिवेशनमा पार्टी सभापतिको दावेदारी पेश गर्नुभएका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आजपनि आफूनिकटका नेताहरुसँग छलफल तथा परामर्श गर्दै हुनुहुन्छ ।
केही दिनदेखि आफूपक्षका नेताहरुसँग छलफलमै रहनुभएका सभापति देउवाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहनुभएको छ । सोही क्रममा आज तीन प्रदेशका नेताहरुलाई पनि सहयोग माग्ने बताइएको छ ।
देउवानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यहरूलाई छलफलमा आउन भन्नुभएको छ ।
आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गर्नुभएको थियो भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गर्नुभएको थियो ।
देउवाले पार्टी चलाएको र प्रधानमन्त्रीसमेत भएर अनुभव हासिल गरेकोले आफू पुनः एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेको बताउनुभएको छ ।
काँग्रेसको साख फेरी उचाइमा पुर्याउने र अबको निर्वाचनमा ठूलो र पहिलो पार्टी बनाउनको निम्ती आफूले जित्नुपर्ने उहाँको दाबी छ ।
कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेपछि देउवा लगायतका नेताहरुले सक्रियता बढाएका छन् । सभापतिमा देउवासहित उपसभापति विमलेन्द्र निधी, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ लगायतले दाबी गरेको बताइएको छ ।