काँग्रेस बचाउने भए मलाई फेरी सभापति बनाउनुस- देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनको निम्ती फेरी आफू एकपटक सभापतिमा जित्नुपर्ने बताउनुभएको छ ।

देशको पूरानो पार्टीको साख पूरानै अवस्थामा फर्काउन र बलियो बनाउनको निम्ती आफूले फेरी सभापतिमा उठ्ने बताउनुभएको हो । आफूपक्षीय बागमती प्रदेशका केन्द्रीय नेताहरुको बैठकमा बोल्दै उहाँले आफू सभापति पदको उम्मेद्वारी दिनबाट कुनै पनि हालतमा पछि हट्न नसक्ने बताउनुभएको छ ।

१४औं महाधिवेशनमा सहयोग गर्न आग्रह गर्दै उहाँले विगतमा सरकार रहँदा अरु दललाई सहमतिमा लिएर अघि बढ्न सकेको उदाहरण देखाउँदै सबैलाई मिलाउने क्षमता आफूमा भएको सुनाउनुभएको थियो ।

बैठकमा सहभागी नेताहरुले सभापतिमा प्रत्यासी हुँदा उठाउने अजेण्डाबारे जिज्ञासा राखेका थिए। ‘संसदीय अवस्था हेर्दा पार्टी कमजोर देखिएको छ। संगठनमा भने हामी बलियो छौं,’ देउवाले छलफलमा राखेको विचारबारे सहभागी एक नेताले भने,‘दुई कम्युनिस्ट एक भएकाले थोरै मतले हामी धेरै ठाउँमा हारेका छौं। दुई पार्टी एक नभएको भए हामी नै ठूलो दल हुने थियौं।’

पार्टीको पूर्ववत् साख फर्काउन देशको तरल राजनीतिलाई ट्र्याकमा ल्याउन आफ्नो उम्मेदवारी हुने देउवाको भनाई छ ।

उहाँले देशमा प्रणाली फेर्न र संकटबाट पार लगाउन कांग्रेसको निर्णायक भूमिका रहेको स्मरण गर्दै देउवाले त्यो भूमिका आफ्नो नेतृत्वमा सम्भव हुने बताउनुभयो ।

‘राष्ट्रिय एकता कायम गर्न पार्टीका अन्य नेताभन्दा म सक्षम छु,’ देउवाले छलफलमा राखेको विषय सहभागी एक नेताले बताए।

अबको निर्वाचनमा पार्टीलाई पहिलो र ठूलो दल बनाएर मात्र आफू विश्राम लिने देउवाले बताउनुभएके थियो ।

यसअघि आफूपक्षका नेताहरुसँग भेटघाट गर्दे उहाँले आफूलाई फेरी जिताउन आग्रह गर्नुभएको थियो । वर्तमान उपसभापति विमलेन्द्र निधिलाई पनि भेटेर उहाँले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर निधिले भने आफू कुनै पनि हालतमा सभापतिको उम्मेद्वारीबाट पछि हट्न नसक्ने बताउनुभएको थियो ।

यसपटक काँग्रेस सभापतिको रुपमा देउवासहित, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि लगायतले दावेदारी प्रस्तुत गर्ने बताइएको छ ।

स्रोतका अनुसार करिब आधा दर्जन नेताहरुले सभापतिको दावेदारी दिने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय