छिमेक देश भारतमा कोरोनाको दोस्रो लहरको सकस, दैनिक नयाँ संक्रमितको थापिनेको क्रम निरन्तर बढ्दो

भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ८१ हजारभन्दा धेरै संक्रमित फेला परेको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या गत अक्टोबर २ यताकै सबैभन्दा उच्च हो ।

भारतमा सेप्टेम्बरको मध्यमा उच्च बिन्दुमा पुगेको संक्रमण त्यसपछि भने घट्न थालेको थियो । तर, यो क्रम फेब्रुअरीको मध्यसम्म मात्र कायम रह्यो । त्यसयता भारतमा दैनिक नयाँ संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ ।भारतमा कोरोना संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा फैलिएको छ । यो राज्यमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला पर्दा २४९ जना संक्रमितको मृत्यु भएको छ । यो राज्य भारतमा सबैभन्दा धेरै नयाँ संक्रमित फेला पर्ने मात्र नभई सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भइरहेको राज्य पनि हो । यद्यपि कर्नाटक, छत्तीसगढ जस्ता राज्यमा पनि उल्लेख्य मात्रामा कोरोना संक्रमण बढिरहेको छ ।

बिस्तारै संक्रमण नियन्त्रणको दिशातर्फ उन्मुख हुँदै गएको बेला नयाँ लहर फैलिएसँगै अहिले मानिसहरुमा कोरोनाको डर त बढेको छ नै, सरकारलाई पनि कोरोना नियन्त्रणको चुनौती बढेको छ ।

भारतमा कसरी फैलियो कोरोनाको नयाँ लहर ?
भारतमा केरोना संक्रमण बढ्नुको एक कारण मानिसहरुले कोरोना नियन्त्रणका लागि आवश्यक मापदण्ड पालना नगर्नु हो । कोरोनाको पहिलो लहरमा जस्तो सतर्कता मानिसहरुले दोस्रो लहरमा देखाएका छैनन् । अहिले मानिसहरुले मास्क लगाउने, बारम्बार हात धुने र भौतिक दूरी कायम राख्नेजस्ता मापदण्ड पालना गर्न छाडिसके ।

भारतमा कोरोना संक्रमण घट्दो क्रममा देखिँदा मानिसहरुले यसलाई कोरोनाको अन्त्य भएको सम्झिएको र संक्रमण बढाउन यो सहायकसिद्ध भएको भारतीय विशेषज्ञ बताउँछन् । सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्ध हटेसँगै ठूलो भेला, पार्टी तथा अन्य समारोह हुन थाले । यी समारोहमा धेरैले मास्कसमेत लगाउँदैनथे ।

बीबीसीसँगको अन्तर्वार्तामा भारतको महाराष्ट्रका चिकित्सक शशंक जोशीले भने, ‘कोरोनाको समयमा जस्तो व्यवहार हुनुपर्ने थियो, त्यो नहुनु र परीक्षणमा कमी आउनु नै पहिला संक्रमणको चपेटामा नपरेका क्षेत्रमा अहिले संक्रमण बढ्नुको कारण हो ।’

भारतमा कोरोना संक्रमण बढ्नुमा सरकारको पनि केही कमजोरी छ । कोरोना नियन्त्रणको दिशामा आइरहेको समयमा प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचन प्रचार तथा अन्य समारोहमा भाग लिन मुलुकको विभिन्न भागमा गए । जहाँ भारतीय जनता पार्टीका नेता तथा कार्यकर्ताले गम्भीर भएर कोरोना नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना गरेनन् । विभिन्न राज्यमा भएको निर्वाचनमा पनि कडाइका साथ मापदण्ड पालना गराइएन ।

शहरी क्षेत्रको गतिविधि भारतमा नयाँ संक्रमण फैलिनुको अर्को कारण हो । भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै भारतका मुख्य शहरमा छन् ।

भारतीय शहरमा हुने अत्याधिक चहलपहलको कारण कोरोना संक्रमणले पनि फैलिने मौका पायो । भारतमा फैलिएको कोरोनाको दोस्रो लहरबाट मुम्बई, पुणे, नागपुर, बैंग्लोर र दिल्लीजस्ता शहर धेरै प्रभावित भएका छन् ।

मानवीय कारणबाहेक कोरोनाले बदलिरहेको स्वरुप परिवर्तन पनि संक्रमण बढ्नुको अर्को कारण हो । केही समयअघि भारतको स्वास्थ्य मन्त्रालयले एउटै भाइरसमा दुईपटक स्वरुप परिवर्तन भएको पाइएको बताएको थियो ।

आशंका
भारतमा कोरोनाको दोस्रो लहर बढ्दो क्रममा देखिएसँगै यसले ल्याउन सक्ने स्वास्थ्य समस्याका साथै सामाजिक गतिविधिमा प्रतिबन्धको डर अहिले मानिसहरुमा देखिएको छ । गत वर्ष लकडाउनको कारण लामो समयसम्म आफ्नो कामबाट वञ्चित रहेका वा नोक्सानीको सामना गरेका मानिसलाई अब पुनः लकडाउन हुन्छ कि भन्ने डरले सताउन थालेको छ । भारतका प्रमुख शहरमा काम गरिरहेका मानिसहरु पनि अब हुने लकडाउन थेग्न नसक्ने बताउँछन् ।

त्यसो त सरकारले पनि गत वर्षको जस्तो कडा लकडाउन अब नहुने स्पष्ट पारिसकेको छ । तर, संक्रमण नियन्त्रणका लागि सामाजिक गतिविधिमा गर्नुपर्ने आवश्यक कडाइ भने जारी रहने सरकारले बताइसकेको छ । संक्रमण नियन्त्रणको लागि भारतको महाराष्ट्रको सरकारले केही समयमा रात्रीकालीन कफ्र्युको पनि घोषणा गरिसकेको छ । यद्यपि दिउँसो भने यी शहरमा निकै भिडभाडयुक्त रहने गरेको भन्दै विशेषज्ञहरुले भने चिन्ता व्यक्त गरेका छन् ।

खोप अभियान
भारतमा फैलिएको कोरोना संक्रमणको नयाँ लहरलाई ध्यानमा राख्दै सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई पनि तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ । जसअनुसार बिहीबारबाट भारतले ४५ वर्ष वा सोभन्दा बढी उमेर समूहका मानिसलाई पनि कोरोना खोप दिन थालेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेमा ९० प्रतिशत ४५ वर्षभन्दा बढी उमेरका छन् । ४५ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप पु¥याउन सके मुलुकमा कोरोना संक्रमण निकै कम हुने भारत सरकारको विश्वास छ । अहिलेसम्म भारतमा कम्तीमा एक डोज कोरोना खोप लगाउनेको संख्या पाँच करोड ९१ लाखभन्दा बढी पुगेको छ भने समग्रमा ६ करोड ८७ लाखभन्दा बढीले दुवै डोज खोप पाइसकेका छन् ।

भारतले मुलुकमा खोप अभाव नहोस् भनेर निर्यातमा पनि कडाइ गरेको छ । भारतले जुलाईसम्ममा फ्रन्टलाइन वर्कर तथा कोरोनाको जोखिम धेरै भएका ३० करोड मानिसलाई कोरोना खोप पु¥याउने लक्ष्य राखेको छ ।- अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय