गुल्मी, मंसिर १२— गुल्मीको मुसिकोट नगरपालिकाद्वारा वामी टक्सारस्थित नव आदर्श बुद्ध बिहारलाई हार्मोनियम र साउन्ड सिस्टम हस्तान्तरण गरिएको छ। मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजित १ लाख ५० हजार रुपैयाँ बजेटबाट खरिद गरिएका ती सामग्रीहरू बिहारलाई हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रमसँगै स्थानीय चुड्का भजन, ज्ञानमाला भजन तथा नेवारी डाफा भजन प्रस्तुत गरिएको थियो। धार्मिक तथा सांस्कृतिक मौलिकता झल्किने भजनहरूले कार्यक्रमलाई विशेष र आकर्षक बनाएको थियो।
कार्यक्रममा गलकोट नगरपालिका वडा नं. ११ का वडाध्यक्ष डम्मर श्रीस सहित उदय रिघा बिहारका संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष तथा पदाधिकारीहरूको मैत्रीपूर्ण उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी हुनुभएका मुसिकोट नगरपालिकाका नगर प्रमुख जीवलाल खरेल ‘जीवन’, उपप्रमुख गङ्गा श्रेष्ठ, स्थानीय वडाध्यक्ष हरिहर सापकोटा, गलकोट–११ का वडाध्यक्ष डम्मर श्रीस लगायत सम्पूर्ण अतिथिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, बिहारको कार्य समिति, सल्लाहकार समिति र ज्ञानमाला समितिका सम्पूर्ण पदाधिकारीहरूलाई समेत विशेष आभार प्रकट गरिएको छ।
उक्त सामग्री हस्तान्तरण तथा कार्यक्रमसम्बन्धी जानकारी सरोजराज बौद्दाचार्यले दिनुभएको हो।


