गुल्मी, मङ्सिर १२: गुल्मीको इस्मा गाउँपालिका–५ स्थित सालबिसौना नजिकै धुर्कोटेको पोखरी भन्ने स्थानमा सवारीको पछाडि ढालामा झुण्डिएर चढ्ने क्रममा लडेर एक बालक घाइते भएका छन्।
गत मङ्सिर १० गते इस्मा गाउँपालिकामा कार्यरत निमित्त लेखा अधिकृतसहितको टोली तम्घासबाट गाउँपालिका कार्यालयतर्फ जाँदै गर्दा सो घटना भएको हो। राम बहादुर परियार र गोमा परियारका छोरा हिमाल परियार (मनिष) गाउँपालिकाको ‘बा १२९५’ नम्बरको गाडीको पछाडि ढालामा झुण्डिएर चढी आफैँ झुण्डिने/हामफाल्ने क्रममा लडेर घाइते भएको बताइएको छ।
घटनापछि चालकले बालकलाई ठक्कर दिएको, किचेको वा भागेको भन्ने हल्ला फैलाइए पनि प्रहरी अनुसन्धानबाट उक्त दाबी निराधार रहेको पुष्टि भएको जनाइएको छ।
यता, घटनाका बेला आफू नै उक्त गाडीमा सवार रहेको र बालकलाई हिर्काएर भागेको भन्दै फैलाइएको अफवाहप्रति इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।
उपाध्यक्ष कुँवरका अनुसार घटना भएका समयमा उहाँ दोबाटास्थित टोपला पन्त आमाको घरमा निम्तोमा रहनुभएको थियो र उक्त गाडीमा सवार हुनुहुन्नथ्यो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ कार्यालयबाट घटनास्थल हुँदै जिल्ला अस्पताल गुल्मी पुगी स्थानीय तथा सिद्ध प्राथमिक विद्यालय परिवार लगायतको सहयोगमा बालकको प्राथमिक उपचार गराइएको उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो।
जिल्ला अस्पतालले अवस्था सामान्य र चिन्तामुक्त रहेको बताए पनि थप स्पष्टताका लागि पाल्पास्थित मिसन अस्पतालमा लगी ‘सीटी स्क्यान’ गरिएको थियो।
दुई दिनको अस्पताल बसाइपछि ‘सीटी स्क्यान’ लगायतका सबै रिपोर्ट सामान्य आएपछि बालक डिस्चार्ज भई सकुशल घर फर्किसकेको बताइएको छ।
प्रहरी प्रशासनको छानबिनपछि उपचार र डिस्चार्जपश्चात् दुवै पक्षबीच समझदारीपूर्ण मिलापत्र समेत सम्पन्न भइसकेको छ।
उपाध्यक्ष कुँवरले बालकलाई भएको चोट र परिवारमा परेको पीडाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि सधैँ तत्पर रहेको उल्लेख गर्नुभएको छ। साथै, सत्यतथ्य नबुझी समाजमा भ्रम फैलाउने र विभाजन ल्याउने खालका निराधार कुरा नगर्न तथा जिम्मेवार बन्न उहाँले आग्रह गर्नुभएको छ।
घटनाको समन्वय र उपचारमा सहयोग गर्ने परिवारजन, स्वास्थ्यकर्मी, प्रहरी प्रशासन र सरोकारवालाप्रति उहाँले धन्यवाद समेत व्यक्त गर्नुभएको छ।


