विष्णुप्रसाद आचार्य ‘चकित’
गुल्मी ,इस्मा गाउपालिका स्थायी बसोबास भइ विभिन्न कामले अन्यत्र अस्थायी बसोबास गरेका १४४ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकको कागजपत्र नविकरण गरिएको छ ।
गत साउन २२ गते बिहिबार बुटवलको ड्राइभरटोलस्थित ब्ल्यु बेल पार्टी प्यालेशमा गरिएको सामाजिक सुरक्षा भत्ता नविकरण शिविरमा १४४ जनाको बायोमेट्रिक भेरिफिकेसनसहित १ जनाको नयाँ दर्ता गरिएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो ।
खड्काले भन्नुभयो—”सामाजिक सुरक्षा भत्ता हाम्रो नागरिकको अधिकार हो । आफ्नो गाउँमा उपस्थित हुन नसक्ने अशक्त, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग र अन्य लाभग्राहीका लागि यस्ता शिविरहरू बुटवलमा मात्र होइन, आवश्यकताअनुसार ठाउँठाउँमा गर्ने हाम्रो योजना छ । यसपटकको शिविरमा ठूलो संख्यामा लाभग्राहीले सेवा लिनु हाम्रो टीमको समर्पणको प्रमाण हो ।”
इस्मा गाउँपालिकाको आयोजना र इस्माली समाज रुपन्देहिको समन्वयमा कार्यक्रम गरिएको हो।
स्वयम आफ्नो गाउँपालिकामा उपस्थित भएर नविकरण गर्न समस्या भएका तथा अशक्त, ज्येष्ठ नागरिक, एकल महिला/पुरुष , अपाङ्ग, दलित अनि स्वास्थ्यसङ्ग सम्बन्धित बिभिन्न ब्याक्तिहरुको अपेक्षालाइ मध्यनजर गरी रुपन्देहि, कपिलवस्तु, नवलपरासी, दाङ लगायतका जिल्लाहरुबाट लाभग्राहिले लाभ लिएको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताउनुभयो ।
कुँवरले भन्नुभयो”यस शिविरमार्फत असहज परिस्थितिका कारण गाउँमै उपस्थित हुन नसक्ने नागरिकले सहज र छिटो सेवा पाए । रुपन्देही मात्र होइन, छिमेकी जिल्लाबाट समेत लाभग्राही आउनु यो कार्यक्रमको आवश्यकता र प्रभावकारिताको स्पष्ट संकेत हो । यस्ता पहलले हाम्रो सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँछ ।
बुटवलमा गरिएको शिविर निकै प्रभावकारी भएको र लाभग्राहि खुसी भएकोले काठमाण्डौँमा पनि शिविर गर्ने उद्देश्य रहेको सामाजिक सुरक्षा शाखा प्रमुख बलराम खनालले बताउनुभयो ।