रुपन्देही । नेकपा एमालेको नेतृत्वको कमजोरीका कारण राष्ट्रियसभामा एमालेको एक सीट गुमेको छ । पार्टीका शीर्ष नेताहरुले टिकट बाँडफाँटमा ध्यान नपुर्याउँदा राष्ट्रियसभामा एमालेको एक सीट गुमेको हो ।
राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद पनि गुमेको छ, भने रुपन्देही ५ मा उम्मेदवार पनि पाउन सकेनन् । रुपन्देहीको क्षेत्र नं। ५ मा अन्ततः नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएपछि भट्टराई अलपत्र परेका छन् ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्नका लागि शनिवार अपराह्न नेकपा एमालेले लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउसो उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो ।
शनिवार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपराह्न साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपराह्न पौने ५ बजे एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले अर्को पत्र पेश गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर भट्टराईले यसअघि वासुदेव घिमिरेलाई दिएको पत्र भुलवश भन्दै पार्टीको अर्को पत्रसहित दर्ता गराएको भएपनि निर्वाचन आयोगले भट्टराईको दाबीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको छ ।
नेता घिमिरेले आयोगबाट आफूलाई आधिकारिक उम्मेदवारको टुंगो लागेको नेपाल प्रेसलाई बताए । – नेपाल प्रेस


