काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । ‘काठमाडौं-४ बाट महामन्त्री गगन थापाको मात्रै नाम सिफारिस गर्यौं,’ क्षेत्रीय सभापति श्यामकृष्ण संगतले भने, ‘सर्वसहमतिले उहाँको नाम जिल्ला कार्यसमितिमा पठाएका छौं ।’
यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । २०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा.राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
यो पनि पढ्नुहोस् – मन्त्री दम्पत्ती एउटै क्षेत्रमा फरक पार्टीबाट सांसद उम्मेदवार सिफारिस
काठमाडौं । पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पत्ती प्रतिनिधिसभा सदस्यका लागि आआफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन् ।
वागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बसन्त मानन्धर नेकपा एसबाट काठमाडौं ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उनको नाम एकलरुपमा सिफारिस भएको हो । सोही क्षेत्रबाट मानन्धर पत्नी इन्दिरा पन्त नेकपा एमालेको उम्मेदवारका लागि सिफारिस भएकी छन् । एमालेका क्षेत्रीय कमिटी बैठकले पन्तसहित तीनजनाको नाम यसअघि नै सिफारिस गरिसकेको छ ।
मानन्धर एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पार्टी विभाजनपछि उनी नेकपा एसतिर लागे पनि पत्नी इन्दिरा पन्त भने एमालेमै छिन् । उनी एमालेको महाधिवेशनमा समेत प्रतिनिधि थिइन् भने महानगरपालिकाको मेयरको उम्मेदवारमा पनि सिफारिस भएकी थिइन् ।
नेकपा एसले काठमाडौं २ बाट माधव नेपाल नलड्न भएपछि त्यसको साटो बसन्त मानन्धरका लागि काठमाडौं ७ मा दाबी गरेको छ । तर गठबन्धनबाटै जसपाका नेता तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरिसकेका छन् ।
एमाले नेतृ पन्तले आफू पार्टीबाट उम्मेदवारको आकांक्षी रहेको र नाम पनि सिफारिस भइसकेको बताइन् । पति फरक पार्टीमा रहेकाले अर्को पार्टीबाट को उम्मेदवार बन्छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।