काठमाडौँ- मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना प्रधानाध्यापकको गोली हानी हत्या भएको छ ।
मिक्लाजुङ १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको अवस्थामा मंगलबार विहान शव भेटिएको हो ।
श्रेष्ठको शव मिक्लाजुङ १ बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ ।
मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ । बिहान सवा ६ बजेतिर ४/५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको एसपी खड्काले जानकारीदिएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।यसअघि पनि विप्लवले प्रदेश सरकारकाे लगनीमा निर्माण हुने टाँडी आइतबारे प्रदेश सडक निर्माणमा प्रयाेग गरिएका स्काभेटरमा आगजानी गरेका थिए।