नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमाए नेताहरु प्रेम आले, किसन श्रेष्ठ र विरोध खतिवडा बैठकमा उपस्थित भएका छैनन् । मन्त्री पद गुमाएकी रामकुमारी झाँक्री भने ढिलो गरि बैठकमा पुगेकी छन् ।
प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले सम्बोधन थालिसक्दा उनीहरु बैठकस्थल नपुगेका हुन् । उनीहरुले मन्त्री पद जाने भएपनि चर्को लबिङ गरेपनि पद भने जोगाउन सकेका थिएनन् । समाजवादीका ४ मन्त्री र एक राज्यमन्त्रीको आजै शपथ भइसकेको छ ।
आफूहरुले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जवरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका थिए।
पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल गर्न समाजवादीको बैठक आज बसिरहेको हो । बैठकमा पार्टीका महासचिव डा.वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्या र आगामी कार्यदिशाबारे उल्लेख छ ।
बैठकमा सहभागीहरुले डा.वेदुराम भुसालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नेछन् ।


