काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका छन् ।
नेता थापाले शुक्रबार बालुवाटार पुगेर राष्ट्र बैंकका उच्च अधिकारीहरूसँग भेटेर अहिले देखिएको आर्थिक संकटबारे छलफल गरेका हुन् ।
महामन्त्री थापाले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको जानकारी दिए ।
‘अर्थतन्त्रमा देखिएका यीलगायतका समस्या समाधानका उपायहरूसहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छ,’ थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
पछिल्लो समय देखिएको आर्थिक संकट र सेयर बजार ओरालो लाग्नुमा राष्ट्र बैंकको नीति प्रमुख कारण रहेको मानिएको छ ।
गभर्नर अधिकारी एमाले कोटामा नियुक्त भएकाले अहिलेको सरकारलाई असफल बनाउन पनि उनले कडा नीति लिएकाले अर्थतन्त्र कोल्याप्सको बाटोमा हिँडेको अर्थविद्हरूले आरोप लगाएका छन् ।


