कैलाली । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए ।
हिजो बिहानदेखि हराएको विमान आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको थियो । यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त विमान फेला पारेका थिए । अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली दुर्घटनास्थल पुगेर उद्दार एवम् खोजी कार्य गरिरहेको छ । विमानमा धनुषाका एकै परिवारका सातजना सवार भएको पुष्टि भइसकेको छ । विमानमा १९ जना सवार थिए ।
यो पनि पढ्नुहोस् – सुर्खेत । आइतबार दिउँसो १ बजे आमासँग भेट्ने सपना वाचा गरेका थिए, दुर्घटनाग्रस्त तारा एयरका को–पाइलट, उत्सव पोखरेलले । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ३ का पोखरेलले बिहानै टेलिफोन गरेर भनेका थिए, ‘दिउँसो काठमाडौं आउँछु, अनि आमासँग भेट्छु ।’
तर उनको आमा भेट्ने सपना अधुरै रह्यो । हिजोदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त स्थितिमा आज बिहान भेटिएसँगै उनको आमा भेट्ने सपना अधुरो भएको पुष्टि भएको हो ।
‘हिजो बिहान फोन गरेर दिउँसो एक बजे काठमाडौं फर्किन्छु भनेको थियो’, उत्सवका बुवा मणिराम पोखरेलले भने, ‘उसले भिडियो कल गरेर पोखरा लुक्लाको पाँच उडान भरेर काठमाडौं फर्किने भनेको थियो । तर, दैवले अब कहिल्यै भेट गराउँदैन जस्तो छ ।’
२५ वर्षका पोखरेलले जाजरकोटको बागेश्वरी माविबाट एसएलसी दिएका थिए । त्यसपछि प्लस ‘टु’हुँदै को–पालटको तालिम लिन उनी फिलिपिन्सको रोयल एकेडेमीमा भर्ना भएका थिए ।
उत्सवका दाइ उमेश पनि पाइलट पढ्न फिलिपिन्समा गएका छन् । बुवाले अब उमेशलाई पनि पाइलट नपढाउने निधो गरेका छन् ।उत्सव को–पाईलट बनेको दुई वर्ष मात्रै भएको थियो । उनले विवाह गरेका थिएनन् ।


