चुनावको मुद्दाले विप्लवको पार्टीमा रडाको, फुट्ने सम्भावना बढ्यो

काठमाडौं । स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयका कारण नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय बैठकमा औपचारिक रुपमै चुनावमा सहभागी हुने प्रस्ताव राखेपछि पार्टीमा विवाद बढेको हो ।

दुई दिनसम्म काठमाडौंमा चलेको पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्ताव नै अल्पमतमा पर्यो । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार चुनावमा सहभागी हुने प्रस्तावको पक्षमा विप्लवसँगै पार्टी प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र चुनावमा विपक्षमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ उभिए ।

सचिवालय सदस्य सन्तोष बुढा मगर दुवै पक्षमा नखुलेपछि सचिवालय बैठकमा विप्लवको प्रस्ताव अल्पमतमा पर्यो । दुई दिनसम्म बसेको बैठक विनानिष्कर्षमै टुंगियो । आफ्नो प्रस्ताव अल्पमतमा परेपछि विप्लवले दुवै पक्षमा नखुलेका सन्तोष बुढालाई सँगै गाडीमा लिएर कपिलबस्तु हिँडे ।

शुक्रबारका लागि तय भएको नेकपाको केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले चुनावी प्रस्ताव पेश गर्ने र त्योभन्दा पहिले सचिवालयमा एकमत बनाउने प्रयास गरेका थिए । कपिलबस्तुमा बुधबार पुनः सचिवालय बैठक बस्ने भनिए पनि पार्टी प्रवक्ता प्रकाण्ड काठमाडौँ रहेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित भएको थियो ।

विप्लवले बैठकमा पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेको र जनताबाट अलग्गिने भन्दै चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएको एक सचिवालय सदस्यले नेपाल प्रेससँग बताए । महासचिव विप्लवको प्रस्तावको विपक्षमा रहेका सुदर्शन र कञ्चन अहिले क्रान्तिकारी शक्ति कमजोर भएको र चुनावको नतिजा जनताको पक्षमा नआउने बुझाइमा छन् । बैठकमा उनीहरुले दोस्रो संविधानसभाको निर्वाचनसहित त्यसपछिका निर्वाचन बहिस्कार गरेको औचित्य पुष्टि नहुने बताएका थिए । विप्लवको प्रस्ताव अनुसारै चुनावमा जानुपर्नेमा प्रवक्ता प्रकाण्डले भने जोड दिएका थिए ।

विप्लवले अलग–अलग गरेको छलफलमा चुनावमा जान तयार भए पनि बैठकमा बुढामगरले चुनावी नतिजा जनताको विपक्षमा आउने मत राखेका थिए । नेता बास्तोलाले तीन बुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा चुनावमा जानु प्रतित्पादक हुने बताउँदै चुनावमा सहभागी हुन ेभए अहिलेसम्म बहिस्कार गरेको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखेका थिए ।

अर्का सचिवालय सदस्य सुदर्शनले पार्टीका नेता कार्यकर्ता अझै पनि जेलमै रहेको र जनमत संग्रहको नारा लगाएर संसदीय व्यवस्थाको चुनावमा जानु राजनीतिक बेइमानी हुने धारणा राखेका थिए ।

पार्टी एकता गरेर निर्वाचनमा जाने विप्लवको प्रस्ताव वैद्यद्वरा अस्वीकार यसैबीच नेकपाका महासचिव विप्लवले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’लाई भेटेर पार्टी एकता गरेर चुनावमा जान प्रस्ताव राखेका थिए । क्रान्तिकारी माओवादीका एक नेताले भने, ‘हामी केन्द्रीय समिति बैठकको तयारीमा थियौं, विप्लवजीले महासचिव ‘किरण’ कमरेडसँग भेट्न समय माग्नुभयो । भेट पनि भयो । भेटमा चैतभित्रै पार्टी एकता गरौं र चुनावमा जाऔं भनेर प्रस्ताव राख्नुभयो ।’

विप्वलको प्रस्तावलाई वैद्यले ठाडै अस्वीकार गरेको ती नेताले बताए । भेटमा वैद्यले आफ्नो पार्टी चुनाव उपयोगको पक्षमा नरहेको र एमसीसीलगायतका विषयमा सँगै सडक संघर्षमा जान प्रस्ताव राखेका थिए ।

विप्वलको प्रस्तावले क्रान्तिकारी माओवादीभित्र ठूलै बहसको विषय बनेको छ । विप्लवसँगको भेटको कुरा वैद्यले केन्द्रीय समितिमा नराखे पनि सीमित नेतालाई भने जानकारी गराएका छन् ।

यसअघि क्रान्तिकारीबीच ध्रुवीकरण गरौं भन्दा विप्लवले आनाकानी गर्दै आएको तर चुनावको लागि पार्टी एकता गरौं भन्ने प्रस्ताव राखेको एक नेताले बताए । उनले भने, ‘हामीले पटक–पटक क्रान्तिकारीबीचको एकतामा जोड दिँदै आयौं, विप्लवजीले आनकानी गरेर टार्दै आउनुभयो । तर, अहिले चुनावमा सहभागी हुनका लागि पार्टी एकताको प्रस्ताव गर्नुभयो, हामी त उहाँले यस्तो प्रस्तावबाट अचम्ममा परेका छौं ।’

उनले आफ्नो पार्टीको पोखरा केन्द्रीय समिति बैठकको निष्कर्ष सावित भएकोसमेत दाबी गरे । यसअघि पोखरामा सम्पन्न बैठकले विप्लवलाई रुपमा क्रान्तिकारी र सारमा दक्षिणपन्थी, संशोधनवादी भएको सश्लेषण गरेको थियो ।

विप्लवसँग पार्टी एकताका लागि महराको प्रस्ताव, सिटमा कुरा मिलेन- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा र विप्लवबीच कपिलबस्तुमा भएको भेटवार्तामा चुनावबारे छलफल भएको बताइएको छ । स्रोतका अनुसार महराले सबै माओवादी एक भएर चुनावमा सँगै जाउ भन्दै प्रस्ताव राखेका थिए ।

विप्लवले जवाफमा आफ्नो पार्टीलाई कति सिट दिने ? भन्दै प्रश्न राखेका थिए । महराले यसबारे पहिले चुनावमा जानेबारे सैद्धान्तिक सहमति भएपछि त्यसबारे छलफल गर्न सकिने बताइएको छ । विप्लवले आफूले केन्द्रीय समिति बैठकमा यसबारे निर्णय गरेर फेरि छलफलमा बस्ने जवाफ दिएको महरा निकट एक नेताले बताएका छन् ।

चुनावमा जाने प्रस्ताव पारित भए नेकपा फुट्ने !- नेपाल प्रेससँग विप्लव नेतृत्वका एक सचिवालय सदस्यले पार्टीले औपचारिक रुपमा चुनावमा सहभागी हुने निर्णय गरे आफूहरु त्यसको विपक्षमा जाने बताए । उनले सचिवालय बैठकमा महासचिव विप्लवले चुनावमा सहभागी हुनेबारे प्रस्ताव राखेको सुनेको तर, आफूसँग कुनै पनि नेताले औपचारिक रुपमा नभनेको बताए ।

उनले अब बस्ने केन्द्रीय समिति बैठकमा चुनावमा सहभागी हुने र प्रस्ताव आए आफूहरु विपक्षमा उभिने बताउँदै भने, ‘केन्द्रीय समिति बैठक बस्ने भनेर पटक–पटक समय तोकेर स्थगित हुँदै आएको थियो, योपटक बस्छ होला । बैठकमा चुनावमा सहभागी हुने प्रस्ताव आए बहुमत साथीहरुले त्यसलाई अस्वीकार गर्छौं ।’

जबरजस्त चुनावमा सहभागी हुने निर्णय गरे आफूसहित ठूलो समूहले विद्रोह गर्ने उनले बताए । उनले भने, ‘पहिलो कुरा, एमसीसीलगायतका विषयमा सडक संघर्षका कार्यक्रम ल्याउने बेलामा महासचिवले चुनावमा सहभागी हुने प्रस्ताव ल्याउनु हुनेछैन भन्ने विश्वास छ । यदि ल्याए प्रतिवाद गर्छौं र विद्रोह गर्छौ ।’- नेपाल प्रेासबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय