नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अवमूल्यन भएको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाम्रो आफ्नो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रस्ट पारे। महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि सम्झौतामा जे छ त्यही बुझाइलाई स्पष्ट पारिएको मात्र हो भने।
उनले एमसीसी सम्झौता व्याख्याका सम्बन्धमा काँग्रेस स्पष्ट रहेको छ भन्दै अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसद्बाट सहजपुरमा पारित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रूपमा लिएको धारणा राखे।
महामन्त्री थापाले आगामी दुई(चार महिनापछि जनतामा सो सम्बन्धमा रहेको भ्रम हट्दै जाने छ भने। उनले सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलाई आगामी पाँच(सात वर्षसम्म यस सम्बन्धमा प्रश्न सोधिरहनु पर्ने अन्यथा पुनः अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन् भने।
उपसभापति धनराज गुरुङले वर्तमान सरकार बाध्यात्मक स्थितिमा गठबन्धन गरिएको स्पष्ट पार्दे चुनावमा गठबन्धन हुँदैन र जहाँ जुन परिस्थिति हुन्छ त्यही अनुसार गर्दै जाने धारणा राखे। उनले काँग्रेस सदैव बहुदलवाद र संसदीय पद्धतिमा आधारित पार्टी भएकाले आफ्नो नीति र एजेन्डा लिएर जनता समक्ष जाने हो भने।


