मुसिकोट गुल्मी
मुसिकोटका विभिन्न ठाउमा भएका आपराधिक क्रियाकलापको अनुसन्धान गरि तत्काल दोषीलाई कारवाही गर्न नेपाली कांग्रेस मुसिकोट नगर समिति र तरुणदल मुसिकोट ४ बडागाउले प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् |

कांग्रेसले मुसिकोट ४ बडागाउका पार्टी सभापतिसमेत रहेका समाजसेवी व्याक्तित्व गुप्त बहादुर कार्कीको घरमा शनिबार योजनावद्दरुपमा मध्यरातमा आगो लगाएको ठहर गरेको जनाएको छ |
केहि दिन अगाडी सोहि वडाको एम्बुलेन्समा पनि मध्यरातमा आगलागी हुनु र केहि दिनपछि लगत्तै पार्टी सभापतिको घरमा आगलागी हुनुले संयोग मात्र नभएर योजनावद्द घटना भएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ |
मुसिकोटमा भएको योजनावद्द आगजनीको घटनाले समग्र मुसिकोट नगरपालिका भित्रको शान्ती तथा सुरक्षा व्यवस्था कमजोर साबित हुने भएकोले र राज्यभित्रका नागरिकको जिउ धनको सुरक्षा व्यवस्था मिलाउने काम सरकारको रहेकोले सुरक्षाको विश्वाशिलो आधार बनाउन सम्बन्धित सबैको ध्यान आकर्षण गरिएको नेपाली कांग्रेस मुसिकोटले विज्ञप्तिमा उल्लेख गरेको छ |

स्थानीय तहको निर्वाचन घोषणा भैसकेको अवस्थामा नेपाली कांग्रेसको जिम्मेवार नेताको घरमा आगलागी हुनु नेपाली कांग्रेसलाई त्रसित बनाउने निहित स्वार्थकासाथ भएको कांग्रेसले आशंका गरेको छ |
साथै यस्ता घटना घटाउने जो सुकै भएपनि कायर प्रवृत्तिका मानिसले खराब मनोवृत्तिका साथ गरेको कांग्रेसले बताएको छ |
उक्त घटनाको छानबिन गरि दोषीलाई कारवाही गर्न र पिडित परिवारमा राहत व्यवस्था गरि समुदायमा शान्ती सुरक्षाको प्रत्याभूति दिलाउन प्रमुख जिल्ला अधिकारी सहित सम्बद्द निकायलाई कांग्रेसले ध्यानाकर्षण गराएको नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिका सभापति मोहन घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ |
त्यस्तै नेपाल तरुणदल मुसिकोट नगरपालिका ४ वडागाउ वडा कार्य समितिले पनि आइतबार विज्ञप्ति सार्वजनिक गर्दै घटनाको छानबिन गरि दोषीलाई कडा कारवाहीको माग गरेको छ |


