टोपलाल अर्याल,- गुल्मी- फाल्गुण ४ बुधबार ०७:१३:००
गुल्मीको मुसिकोटमा एम्बुलेन्समा आगलागी भएको छ । मुसिकोट नगरपालिका ४ वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी भएको हो ।
अज्ञात पक्षले लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगो लगाइदिएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिए । एम्बुलेन्स भारतीय भुतपूर्व सैनिकको सहयोगमा स्वास्थ्यचौकीले संचालन गरिरहेको थियो । मुसिकोट ४ डाँडाथोक स्थित घर अगाडि रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको बगालेले बताए ।
आगलागी भएको केहि बेरमा स्थानीयले आगो निभाएका थिए । आगलागीबाट एम्बुलेन्सको अगाडीको भाग पुरै जलेको छ । विगत तीन वर्षदेखि एम्बुलेन्स चलाएका बगालेले कोहि कसैसँग रिसिबी नभएको र कसले आगो लगाए भन्ने विषयमा अनविज्ञ भएको बताए । वामी प्रहरीचौकी इन्चार्ज प्रहरी नायव निरिक्षक जनक थापाले केहिबेरमा घटनास्थल जाने बताएका छन् ।
आफुलाई रातिनै सूचना प्राप्त भएपनि स्थानीयले आगो नियन्त्रणमा लिइसकेकाले अब केहिबेरमा घटनास्थल पुग्ने थापाले जानकारी दिए । संयुक्त एम्बुलेन्स संचालन संघका सचिव युवराज बस्नेतले पछिल्लो समय एम्बुलेन्स चालकहरु असुरक्षित हुँदै गएको बताए ।
उनले चालक कुटिनेदेखि एम्बुलेन्समा आगलागी हुने स्थिती आएकाले सरकारले आफुहरुको सुरक्षामा हेलचेक्राइँ गरे कडा प्रतिवाद गर्ने चेतावनी दिए । घटनाको सत्यतथ्य बाहिर ल्याएर संंलग्नलाई कडा कारबाहीको माग बस्नेतले गरे ।


