काठमाडौं । पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २६० पीसीआर परीक्षणमा जम्मा ४९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी कुल ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । त्यस्तै एक हजार ८२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार १०२ जना रहेको छ ।
हाल देशभर २ लाख ८८ हजार ८३७ जनाले खोप लगाएको मन्त्रालयले शनिबार जनाएको छ । यस्तै निको हुने दर ९६.१ प्रतिशत रहेको छ । नेपालमा अहिलेसम्म कुल ११ हजार ८८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस् – गएराती पाल्पाको एक परिवारको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली नाच्न थाले ।
नाच्दै जाने क्रममा उनी अचानक ढलेर अन्दाजी ७ मिटर थल खोल्सामा खसे पछि विवाहको रमझम क्षणभरमै शोकमा परिणत हुनपुग्यो । सोही वडाको धनुवा टोलका कृष्णबहादुर रानाकी छोरीको विवाहमा यस्तो अकल्पनीय घटना घटेको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार ४० वर्षीय नेपालीलाई तल खोल्साबाट उठाई माथि नाच्ने ठाउँमा ल्याएर सुताएकोमा उनको शनिवार बिहान मृत्यु भएका हुन् ।
शनिवार बिहान हेर्दा निजको मृत्यु भइसकेको भनी खबर प्राप्त हुन साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा पुगेर अनुसन्धान गरिएको डिएसपी त्वातीले बताए ।


