गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा आकर्षण बन्यो हेलिकोप्टर

काैरव खत्री .बागलुङ ।गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७८ पौष १६ गते देखि जारी छ । महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न पाईने भएपछि माहोल पनि उल्लासमय बन्दै गएको छ ।

पौष २६ गते सम्म सञ्चालन हुने महोत्सवमा हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन गर्न पाउने सुविधाले धेरैलाई आकर्षित गरेको छ ।

यसपाली महोत्सवको अवसरमा हेलिकोप्टर मार्फत विशेष अफर सहित पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाईने छ । त्यसको लागि सम्पुर्ण तयारी पुरा भएको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजक समितीका अध्यक्ष रुपक पाण्डेले जानकारी दिनुभयो ।

महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत महोत्सव स्थल मजुवाफाँट देखि गलकोटको आकाश, पर्यटकीय गन्तव्य घुम्टे र ढोरपाटन सम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक हरि खत्रीले जानकारी दिनुभयो ।

महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकोप्टर मार्फत बागलुङ क्षेत्र नं २ का
पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने छ । जारी गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा समेत गरिएको छ ।

हेलिकोप्टर दृश्यावलोकनमा कति खर्च लाग्छ ?
न्युनतम १० देखि १५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि प्रति व्यक्ति रु १० हजार शुल्क लाग्ने छ । हेलिकोप्टर मार्फत गलकोट घुम्न पाईनुका साथै घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।

गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टर मार्फत अवलोकन गर्न रु २५ हजार शुल्क निर्धारण गरिएको महोत्सवका कार्यक्रम संयोजक हुम थापाले जानकारी दिनुभयो ।

कहिले हुन्छ उडान ?
हेलिकोप्टर पौष १९ गते उडान हुने छ । उक्त दिन देखि बुकिङ गर्ने दर्शकको चाप अनुसार उडानको समय निर्धारण हुनेछ । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटन सम्मको आकाशमा कैलाश हेलिकोप्टरले उडान भर्ने छ ।

त्यसको लागि आवश्यक प्रकृया समेत पुरा गरिएको महोत्सव आयोजक समितीका उपाध्यक्ष मोहन केसी राजनले जानकारी दिनुभयो । महोत्सवमा आफन्तजन ईष्टमित्र शुभेच्छुकलाई हेलिकोप्टरमा घुम्ने र दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भईरहेको उपाध्यक्ष केसीले बताउनु भयो ।

गलकोट क्षेत्रमा हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्ने यो सुनौलो अवसर भएकोले पनि यसलाई निकै आकर्षणको रुपमा हेरिएको छ । गलकोट नगरमा पर्यटन प्रवर्द्वन गर्नको निम्ती आयोजना गरिएको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकोप्टर मार्फत दृश्यावलोकनको निम्ति अनलाईन र टेलिफोन मार्फत टिकट बुकिङ गर्न सकिने बताईएको छ । हेलिकोप्टरको लागि टिकट बुकिङ गर्न 9856076991 मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय