काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो तर मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीले जनाएको छ । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने एक नेताले बताए ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको छ ।
बुधवार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दर्ता गर्दै नयाँ दलको मान्यता दिएको थियो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले एकीकृत समाजवादीको निर्णय नभएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हँुदै आएको बताएका छन् ।
५ दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपालले ६/६ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँदिल्लीमा उपचार गराइरहेका नेता खनाल स्वदेश फिर्ता भएपछि उनको समेत सहमतिमा मन्त्रीको नामावली टुंगो लगाउने स्रोतको दाबी रहेको छ ।
एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरु सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुख पद पनि सोही पार्टीले पाउने सहमति भएको दाबी स्रोतले गरेको छ ।
नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रियसभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउने भएका छन् ।
एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख १ गरी १३ सांसदलाई नयाँ जिम्मेवारीमा पठाउने भएको छ । त्यसमध्ये संसदीय दलको नेतामा नेपाल स्वयं नै जाने भएका कारण बाँकी ४ जनाको छनोट गरिने भएको छ । यसबाहेक विभिन्न संसदीय समितिका सभापति हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा ३ वटा संसदीय समितिको सभापति पाउने सम्भावना रहेको छ ।
पटक–पटक जनताबाट निर्वाचित भएर पनि गुटका आधारमा मूल्यांकन नहुने परिपाटीले हालसम्म मन्त्री हुन नपाएका सांसददेखि नयाँ पुस्तासम्मका अनुहार सरकारमा देखिने भएको एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ ।
त्यससँगै राष्ट्रिय सभामा दलको नेतामा बामदेव गौतम वा बेदुराम भुसाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । दुबै सदनमा गरी प्रमुख सचेतक र सचेतक (चार जना) को छनोट गरिने भएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिइएको स्रोतले जानकारी दिएको छ ।
हालसम्म मन्त्रीका रुपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा रहेका छन् । यीमध्ये १ जनालाई उपसभामुखको जिम्मेवारी दिइने जनाइएको छ ।
तर उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन । यदि बामदेव गौतमले भौतिक पूर्वाधार मन्त्रालयसहित उपप्रधानमन्त्री स्वीकारेमा उनलाई पठाइने र अन्यथा गौतमलाई राष्ट्रियसभा दलको नेता बनाएर मुकुन्द न्यौपाने वा बेदुराम भुसालको नेतृत्वमा सरकारमा पठाउने तयारी एकीकृत समाजवादीले गरेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।- मिडिया डबली