काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सरकार चलाउन वाक्क दिक्क भइसकेको बताउनुभएको छ ।
दिनैपिच्छे भइरहेको विरोधले आफू दिक्क भइसकेकाले अब थप सरकार चलाउन कुनै इच्छा नभएको बताउनुभयो ।शुक्रवार बालुवाटारमा सम्पादकहरूसँग गरिएको अन्तरक्रिर्यामा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म दिक्क भइसकें सरकार चलाउन, मलाई सरकार चलाउनु छैन, मैले किन विश्वासको मत लिने ?’
दलहरूबाट विरोधका लागि विरोध गरेर असहयोग भइरहेकाले सरकार चलाउन नसकिएको बताउँदै भन्नुभयो, ‘यस्तो असहयोगका बेला पनि सरकार चलाउन सकिन्छ । दिन दिनै बदनाम गरेको छ । चरित्र हत्या गरेको छ। विरोधका लागि विरोध गरेको छ।’
ओलीले आफूले राजीनामा दिनैपर्ने भनेर संविधानमा नलेखिएको बताउँदै नयाँ अर्को प्रधानमन्त्री नबन्दासम्म आफूले काम गरिराख्नुपर्ने बताउनुभयो ।
ओलीले आफूलाई सरकार चलाउन मन नभएकाले राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्न सिफारिस गरेको बताउनुभयो । ‘चलाउने भए मैले विश्वासको मत माग्नुपर्थ्यो, मलाई चलाउनु छैन, त्यसकरण राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्नुहोस् भनेँ ।’ उहाँले भन्नुभयो ।
यद्यपि ओलीले नयाँ प्रक्रियामा सरकारको दावी भने गर्ने बताए। ‘म दावी गर्ने पक्षमा छु,’ उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।’
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५) को सरकार गठनको गर्नको निम्ती प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने व्यवस्था कहीँकतै पनि नभएको बताउनुभयो ।
यो स्पष्ट कुरा हो, राजीनामा दिएर जानुपर्छ भन्ने संवैधानिक व्यवस्था कहाँ छ, मैले विश्वासको मत लिन चाहिन भने के गर्ने ? उहाँले प्रश्न गर्नुभयो ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गर्नुभयो ।
‘राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो’ उहाँले भन्नुभयो, ‘आफ्नो अनुकुल भएन भनेर ‘।’
प्रधानमन्त्री ओलीले विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दावी गर्दै भन्नुभयो, ‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’
उहाँले आफ्नो कदमको अदालतले ब्याख्या गर्ने पनि जिकिर गर्दै भन्नुभयो, ‘संविधानको ब्याख्या गर्ने, स्वतन्त्र न्यायपालिका होला पहिले पनि ब्याख्या गरेको देखकै हो’।