काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नै देशको सबैभन्दा ठूलो भिलेन रहेको जनताले थाहा पाएको बताउनुभएको छ ।
बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले भन्नुभयो, ‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए।’
विपक्षी पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनकै लागि मात्रै नबनेको दावी गर्दै उहाँले राष्ट्रपतिले विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्नुभयो ।
अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको रहेको भन्दै उहाँले भन्नुभयो, ‘कमसेकम राजाको सान त थियो ।’
आफूहरुको संघर्ष कसलाई प्रधानमन्त्री बनाउने र हटाउनेभन्दा पनि संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै यो गठबन्धन बनेको होइन। यो संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाईं हो। सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो। यसमा पाँचै दलमा समझदारी बनेको छ। यो प्रधानमन्त्रीका निम्ति भएको संघर्ष होइन।’
नेकपा एमालेभित्रको संघर्ष अलि पेचिलो रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘एमालेभित्रको संघर्ष अलि पेचिलो छ। माधवजीको समस्यालाई हामीले गम्भिरताको साथ लिएका छौं। यो गठबन्धन दीगो रुपमा लैजानुपर्छ ।’
ओली र माधव नेपाल उस्तै नभएको उहाँको भनाइ छ । उहाँले ओली भन्दा काँग्रेस वामपन्थी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काँग्रेस लोकतन्त्रको रक्षाका लागि हिँडेको छ । संविधानको रक्षाका लागि हिँडेको छ ।
तपाईं लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको छ । अनि कसरी तपाई वामपन्थी र काँग्रेस दक्षिणपन्थी ?’ ।