काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनबारेको मुद्दाको विषय केन्द्रीत बहस सुरु भएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा विषय केन्द्रीत बहस सुरु भएको हो ।
बरिष्ठताको आधारमा बेन्च गठन गरिएको भएपनि सरकारी पक्षको अवरोधको कारण आइतबार इजलासमा विवाद मात्र भएको थियो । त्यसलगत्तै आज बसेको इजलासले बेन्चबारे कुनै पनि कुरा नसुन्ने निर्णय गर्दै बहस थालेको हो ।
प्रधानन्यायाधीश राणाले आज यसअघि सरकारी वकिलबाट प्रश्न उठाइएका कार्की र भट्टराईलाई नै निरन्तरता दिएसँगै विषय केन्द्रीत बहस सुरु भएको हो । अहिले काँग्रेस सभापति शेरबहादुर देउवालगायतको रिटमाथि बहस सुरु भएको छ । जसमा वरिष्ठ अधिवक्ता महादेव यादवले बहस थालेका छन् ।
बहसअघि न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनबारे कुनै पनि कुरा आफूहरुले नसुन्ने बताए । ‘बेन्च गठनबारे अब कुनै पनि कुरा हामी सुन्दैनौँ । यो लास्ट हो बेञ्च गठनको सवालमा’, उनले भने, ‘न्यायलाई अनावश्यक विवादमा ल्याउनका लागि हामी सवैले अस्तिको विवादको दिनलाई विर्सनलायक दिन बनाउनुपर्छ ।’
मुद्दालाई निष्कर्षमा लैजान आफूहरु एक ठाउँमा रहेको बताउँदै उनले हरेक कानुन व्यवसायीलाई बहसका लागि आधा घण्टाको समय दिइएको बताए । ‘समय हामीले जति तोकेका छौं समयको हकमा आधा घण्टा भन्दा दायाँ बायाँ हुँदै’, उनले भने, ‘ हिजो अस्तिका सन्दर्भ कोट्याउन चाहन्न । हिजोका सन्दर्भ हाम्रो नोटिसमा छ । कुन ढंगबाट ती जिज्ञासालाई सम्वोधन गर्नुपर्छ त्यो हाम्रो जानकारीमा छ ।’
उनले कतिपय उठान गरिएका विषयको मौनतामा पनि जवाफ हुने बताए ।