केदार कटुवा, उदयपुर : सबैका लागि कहर बनेर आएको कोरोना महामारी उदयपुर रौतामाईको एउटा परिवारका लागि घरै उजाड्ने काल बनेको छ। एक साताभित्र परिवारका तीन जनाले कोरोनाकै कारण ज्यान गुमाएका हुन्।
रौतामाइ गाउँपालिका –७ की ७१ वर्षीया तिलमाया मगरको बिहीबार विहान मृत्यु भएको छ। उनका दुई जना छोराको यस अघि नै कोरोनाले ज्यान लगिसकेको थियो। दुई छोरा वियोगको शोकमा रहेकै बेला बिहीबार बिहान तिलमायाको पनि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए। दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचारपछि
होम आइसोलेसनमा लगिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा उनका दुई छोराको मृत्यु भएको थियो। जेठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुरको विराट मेडिकल कलेजमा र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कलको नोवेल मेडिकल कलेजमा मृत्यु भएको थियो। दुबैलाई आईसियुमा राखेर उपचार
गर्दा गर्दै कोरोनाले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए।दाजुभाई र आमामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा भर्ना भएका थिए । एक छोरा भने कोरोनामुक्त भएका छन् ।
योसँगै उदयपुरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।