कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदा मृत्युदर  बढ्दो

बागलुङ । जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन् । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रबार मात्रै तीन सङ्क्रमितको मृत्यु भएको छ । उनीहरु अन्तिममा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको हो । बागलुङमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने सक्रिय सङ्क्रमित ९६५ पुगेका छन् ।

कोरोनाको गम्भिर लक्षण देखिदा समेत सङ्क्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरुको बढी मृत्यु भएको घिमिरेले बताए ।

उनले भने, “अक्सिजन लेवलको विषयमा जानकारी नराख्ने, लक्षण देखिदा समेत घरमै बस्ने, एक्कासी बेहोस भई ढल्दा अथवा श्वासप्रस्वासमा समस्या आएपछि मात्रै अस्पताल आउँदा समस्या भएको छ ।”

अक्सिजन लेबल घट्नासाथ अस्पताल आउनेको उपचारपछि निको भएपनि अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्यु हुने सम्भावना बढी देखिएको उनको भनाई छ ।

प्रत्येक सङ्क्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा संलग्न धौलागिरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । उनले भने, “केही बिरामीमा निकै कडा लक्षण देखिन्छ जसकाकारण उसको निमोनिया समेत घटाउन कठिन हुन्छ ।”

पोखरेलले अगाडी थपे, “केहीले अझै कोरोना लुकाउनुभएको छ त्यसकारण भित्रभित्र उहाँको अवस्था गम्भिर बन्दै गएपछि अस्पताल आउनुभएको छ, केही शुरुमै अस्पताल आएपनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोग समेत भएका कारण मृत्यु भएको पाइएको छ ।”

पोखरेलका अनुसार सङ्क्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको सम्र्पकमा रहने, शारीरिक व्यायाम गर्ने तथा श्वास्प्रस्वासको विषयमा जानकारी लिने, स्वस्थ्यकर्मीकै सल्लाहमा अस्पताल आउँदा सहज हुनेछ ।

घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्सिजन परीक्षण नगर्नु तथा एक्कासी समस्या भएपछि मात्रै स्वास्थ्यकर्मीसँगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

शुक्रबार दुईको धौलागिरी अस्पताल र एकको ढोरपाटन कोरोना अस्पातलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ ।

यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षको पुरुषको मृत्यु भएको हो । बिहीबार बडिगाडमा कोरोना शंकास्पद पुरुषको समेत अस्पताल आउनासाथ मृत्यु भएको थियो ।

निषेधाज्ञा एक साता लम्बियो
जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बागलुङमा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा भएको हो । संक्रमणको दरमा कमी नआएपछि जेठ एक गतेदेखि १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो ।- धरातल अनलाईनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय