मुख्यमन्त्री पोखरेलको सरकारलाई बहिष्कार गर्ने विपक्षी ४ दलहरुको निर्णय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई विपक्षी चार दलीय गठबन्धनले बहिष्कार गर्ने भएको छ ।पोखरेलको सरकारलाई अवैधानिक भएको भन्दै प्रदेशभरिका जनताबाट बहिष्कार गर्न अपिल समेत गरिएको छ ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रदेशसभाको बहुमतले अल्पमतका मुख्यमन्त्रीलाई खारेजको घोषणा समेत गरेका छन् ।नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले माओवादीमा प्रवेश गरेकी सांसद विमला वलीको कीर्ते हस्ताक्षर गरेर संसदीय दलको निर्णय गरेकाले त्यसको कुनै औचित्य नरहेको भन्दै कीर्ते हस्ताक्षरको विरोध गर्दै आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिएको जानकारी दिनुभयो ।

कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले गठबन्धनको बहुमत सदस्यले मुख्यमन्त्रीको सपथ रोक्न निवेदन दिएको स्थितिमा प्रहरी दमन गरेर मुख्यमन्त्री नियुक्त गरी संविधानविपरीत सपथ ग्रहण गराउनु बहुमतको सरकारको मूल्य मान्यता र विधिको शासन तथा संविधानविपरीत भएको बताउनुभयो । उहाँले विशेष अधिवेशन अन्त्य गरिनुले प्रदेशसभाको विशेषाधिकार हनन भएको समेत बताउनुभयो ।

गठबन्धनले विशेष अधिवेशन आह्वान गरेकै दिन अधिवेशन नै नगरी अन्त्य गर्नु प्रदेश प्रमुखको गैर जिम्मेवारी, पदीय मर्यादा विपरित गरिएको गैरकानुनी र असंवैधानिक कदम भएको आरोप लगाउँदै संघीय सरकार मार्फत उनको बर्खास्तीको माग गरेको छ ।

साथै, गठबन्धनले विमलाकुमारी खत्रीले नेकपा माओवादी केन्द्र रोजिसकेका बेला उहाँको किर्ते हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउनु गलत भएको बताउँदै विरोध गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक रुपमा बनेका मुख्यमन्त्री पोखरेल र उनको सरकारलाई कुनै मान्यता नदिने बताउनुभयो । त्यसका लागि चारदलीय गठबन्धन र जनता साथमा रहेको उनले दाबी गरे । एमाले सरकार टिकाउन सांसद किनबेच र किर्ते काममा लागेको दाबी गर्दै उहाँले बहुमत प्रदेशसभा सदस्य आफूसँग भएकाले आफू जनताको मुख्यमन्त्री भएको दावी गर्नुभयो ।

गठबन्धनले प्रदेश प्रमुख कार्यालयमा सांसदहरु निर्मला क्षेत्री, पुमर्ती ढेगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गिता थापा र दिपेश थारुलाई प्रहरीले धरपकट गरेको भन्दै कारबाहीको समेत माग गरेको छ ।

बैठकले आइतबार आकस्मिक रुपमा नेकपा एमाले तथा लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएका कपिलवस्तुका दीर्घनारायण पाण्डेयलाई काँग्रेसमा स्वागत गर्दै ६ जेठमा हुने राष्ट्रियसभा उपचुनावमा ४ दलको गठबन्धनले साझा उम्मेदवार बनाउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय