लुम्बिनी प्रदेशमा काँग्रेस, माओवादी, जसपा र जनमोर्चाले कानूनी र राजनीतिक लडाइँ लड्ने घोषणा, कारण के ?

काठमाडौँ । लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ खुवाइएको भन्दै नेपाली काँग्रेस, माओवादी, जसपा र जनमोर्चाले कानूनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेका छन् ।

चारदलीय गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको भन्दै उक्त निर्णयको विरुद्ध लडाई लड्ने बताएका हुन् ।विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउंदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताए ।

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनले बताएको छ । ‘केन्द्रमा ओलीको तानाशाही, अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाउनुभयो, यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं, ’ नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले भन्नुभयो, ‘हिजोको घटना अराजनीतिक र निकृष्ट घटना हो, संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढायो,यो सामान्य विषय होइन ।’

नेता कनौडियाले पोखरेल नेतृत्वको सरकारलाई धेरै दिन टिक्न नदिने चेतावनीसमेत दिनुभयो । ‘संसदबाट कति दिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनु छैन र हामी पराजित गर्छौं ।’ मुख्यमन्त्रीले राजीनामा दिएर ग्राण्ड डिजाइन र षडयन्त्र अनुसार संसद छल्ने नाटक गरेको कनौडियाले बताउनुभयो ।

मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्वन गर्न समेत गठबन्धनले माग गरेको छ ।आइतवार विहान राजीनामा दिनुभएका मुख्यमन्त्री पोखरेलले बेलुका पुनः नियुक्ती लिइ शपथ ग्रहण गर्नुभएको थियो ।-ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय