झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए ।
संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उनले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन ।
प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ ।
तर कांग्रसभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको उनले सुनाए ।
जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे ।
अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘तपाईंहरुले मुद्दा लडेर (संसद) ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’
उनले अघि भने, ‘पहिले पनि अविश्वास राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ । फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु ।-
अनलाइनखबरको सहयोगमा
यो पनि पढ्नुहोस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।
झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।
सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो ।
सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको
नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।