काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै उहाँले देशभर पञ्चभेला गरेको टिप्पणी गर्नुभएको हो ।
भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किनु भएका खनालले पत्रकारहरुसँग
विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर देशमा प्रतिक्रान्तिको थालनि गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताउनुभएको हो ।
उहाँले आफू भारतमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगरेको पनि बताउनुभयो ।
आफ्नो देशको समस्या आफै हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो ।
नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगि विश्राम नहुने पनि बताउनुभयो ।
भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताउनुभयो ।