नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।
दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाइएको सो समूहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, संसद विघटनविरुद्धको आन्दोलनको
कार्यक्रमलगायतका विषयमा छलफल हुने उनले बताए ।
संसद विघटनविरुद्ध शुक्रवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरुद्ध अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।
शनिवार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड(नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।
यो पनि पढ्नुहोस् भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप सरकारले आज देखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्दै छ ।
त्यहाँबाट जिल्लाहरूमा वितरण हुने छ ।खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ ।
उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ ।
केही दिनभित्रै ७७ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ ।
खोप लगाउन कसैलाई बाध्य भने पारिने छैन । महाअभियान भएकाले कोभिड संक्रमित भई निको भएका र नभएका सबैले स्वेच्छाले खोप लगाउन सक्ने छन ।
अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो ।
एक भायलमा १० डोज खोप हुन्छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ ।
खोप विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ