संगम घर्तीमगर/बागलुङ
जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रको नाम लिनुपर्दा सबैभन्दा अगाडी आउने नाम हो, खुङ्खानी नर्जाखानी ।
अप्ठ्यारो भू—वनोट र सरकारी निकायको ध्यान नपुगेको ठाउँ भएका कारण त्यो क्षेत्रले निकै लामो समय सास्ती खेप्यो ।अहिले पनि ठूलो सुख त छैन । यद्यपी त्यहाँका स्थानीयलाई खुसी हुने साना साना कारणहरु भने मिल्न थालेको छ ।
अहिले हरेक जसो बस्ती टोलमा मोटरबाटो पुग्न थालेको छ । अन्य आधारभूत विकासका पूर्वाधारहरु निर्माणको चरण सुरु भएका छन् ।
जसले गर्दा त्यहाँ स्थानीयलाई विकासको अलिअलि अनुभूति हुन थालेको छ ।
गतवर्ष मात्रै खुङ्खानी देखि नर्जाखानीलाई जाड्नेगर पश्चि बागलुङकै लामो झोलुङ्गे पुल निर्माण भएको छ । यही पुलका कारण त्यस क्षेत्रका स्थानीयको दैनिकीमा परिवर्तन आएको छ ।
तमानखोला गाउँपालिका—५ खुङ्खानी देखि ठूला बिसौनासम्म जोड्ने पुलले एक घण्टा बढि पैदल हिँड्नुपर्ने बाटो पाँच मिनेटमा छोट्याईदिएको छ ।
तमानखोला—५ खुङ्खानीको थास्पुरीबाट शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने ज्ञानेन्द्र सुन्चौरीको अचेल दैनिकी नै फेरिएको छ ।
पुल बनेपछि एक घण्टा बढि हिँड्नुपर्ने बाटो पाँच मिनेटमै छोटियो । बिहान ८ नबज्दै घरबाट विद्यालयका हिँड्नुपर्नेमा अब ९ बजे हिँड्दा पनि विद्यालयमा समयमै पुग्न सक्ने भएका छन् ।
‘गाउँमा स्कुल पुग्न दुई घण्टा भन्दा धेरै लाग्थ्यो, अहिले सजिलो भएको छ,’ सुन्चौरी भन्छन्,‘उकालो ओरालो गर्नुपर्दा खोलामै एक घण्टा बढि समय जान्थ्यो । अहिले पुलले सजिलो बनाएको छ ।’
विगतमा बिहान् उठेपछि स्कुलका लागि हिँड्नुपर्ने र साँझ रातपरेपछि मात्रै घरमा पुगिने समस्या अलिकति भए पनि छोटिएपछि उनको दैनिकी पनि केही सहज भएको छ । ‘
अब त घरको केही काम गरेर स्कुल जान सकिने भएको छ । साँझ बेलैमा घर फर्केर होमवर्क गर्नलाई पनि सजिलो भएको छ,’ उनले भने । पुल बनेपछि स्कुल जाने आउने मात्रै नभएर अन्य धेरै कुराहरुमा सुविधा पुगेको तमानखोला—५ का मनकुमार सिर्पाली बताउँछन् ।
‘सबैभन्दा सजिलो त स्कुले केटाकेटीलाई भएको छ, जो दैनिक थास्पुरी नर्जाखानी, भित्रीवन लगायतका ठाउँबाट यहाँको शान्ति माविमा पढ्न आउँछन्,’ उनले भने,‘त्यस बाहेक यहाँका सबैलाई राहत पुगेको छ ।
यस क्षेत्रको स्वास्थ्यचौकी र बर्थिङ सेन्टर पनि यही रहेका कारण पुलले केही सहजता बनाएको छ ।’
एक घण्टा बढि समय लाग्ने बाटो पाँच मिनेटमै पार गर्दा धेरै सहज हुने उनी बताउँछन् । ‘सुन्दा एक घण्टा मात्रै भन्ने लाग्छ तर दैनिक हिँड्नुपर्नेहरुका लागि एक घण्टा समय छोटो हुनु भनेको निकै ठूलो कुरा हो,’ मनकुमारले भने,‘हाम्रो ठाउँका लागि त एक खालको वरदान नै भएको छ ।’
पुल नहुँदा खोलाका कारण निम्तीन सक्ने अप्रिय घटनाबाट पनि अब छुटकारा पाएको उनी बताउँछन् । ‘खोलाको बाटो हिउँद बर्खा हिँड्नुपर्ने, विशेषगरी स्कुले केटाकेटी त दिनकै दुई दोहोर हिँड्नुपर्ने,’ उनले भने,‘बर्खामा खोला बढेर बगाउला भन्ने चिन्ताले घरपरिवार छोराछोरी स्कुल गएदेखि घर नफर्केसम्म पिरलो हुन्थ्यो । अब त्यो चिन्ता रहेन ।’
खुङ्खानीमा पुल बन्ला र यति सहजता होला भनेर आफुहरुले कल्पना नगरेको उनी सुनाउँछन् । ‘हामी त वर्षौंदेखि विकास के हो भन्ने अनुभूति नै गर्न पाएनौं,’ उनी भन्छन्,‘यति लामो पुल यहाँ बन्ला र हामीले सहजता पाउँला भन्ने कहिले कल्पना गरेका थिएनौं ।’
अघिल्लो वर्ष निर्माण भएको पुल गत असोज महिना यता सञ्चालनमा आएको छ । बागलुङ पर्वतमा लामा अग्ला र लामा झोलुङ्गे पुलहरु निर्माण गर्ने होडबाजी नै चलेको छ । यो पुल पश्चिम बागलुङको सबैभन्दा लामो अग्लो झोलुङ्गे पुल हो ।
३३३ मिटर लामो उक्त पुल सस्पेन्स ब्रिज डिभीजनले निर्माण गरेको हो । उक्त पुल निर्माणका लागि सांसद स्वर्गीय ज्ञानकुमार छन्त्यालले पहल गरेकी थिईन् ।
पुलले खुङ्खानी नर्जाखानीका स्थानीयलाई ठूलो राहत मिलेको तमानखोला—५ का वडा सदस्य लिलाकुमार छन्त्याल बताउँछन् । ‘पुलले त यहाँका नागरिकलाई ठूलो राहत मिलेको छ,’उनी भन्छन्,‘राङ्खानीको थास्पुरी, नर्जाखानीको नर्जा भित्रीवनका स्थानीयले प्रत्यक्ष लाभ लिएका छन् ।’
दैनिक जसो घाँस दाउरा गर्ने, वेंशीको बारीमा काम गर्न आउ जाउ गर्नेहरुका लागि पनि यसले सहजता दिएको छ । तमानको खुङ्खानी र नर्जाखानीका तीन सय बढि घरधुरी स्थानीयको दैनिकीमा यसले परिवर्तन ल्याएको उनी बताउँछन् ।
तमानखोला—६ को नर्जाखानी भित्रीवनमा माध्यमिक विद्यालय छैन । जसका कारण कक्षा ९, १० पढ्नका लागि त्यहाँका विद्यार्थीहरु बिहान तीन घण्टा र साँझ तीन घण्टा पैदल हिँडेर शान्ति मावि खुङ्खानीमा आउँछन् ।
पुल बनेपछि त्यस क्षेत्रका विद्यार्थीलाई अलिकति भए पनि राहत पुगेको तमानखोला—६ का वडाध्यक्ष कुलबहादुर छन्त्याल बताउँछन् ।
‘सबै कारणले गर्दा यहाँ नै मावि सञ्चालन तत्काल गर्नसक्ने अवस्था छैन,’ उनले भने,‘यहँका विद्यार्थी दिनकै खुङ्खानी पुगेर आउनुपर्छ । पुलले थोरै भए पनि राहत दिएको छ ।’
पुलले नागरिकलाई सहज बनाउनुका साथै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्नेमा पनि तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा विस्वस्त छन् ।
‘यो पुलले यहाँका आम नागरिकलाई त सहज बनायो नै,’ उनले भने,‘अब यस क्षेत्रका आन्तरिक र बाहिरबाट आउने पाहुनाहरुलाई पनि खुङ्खानी नर्जाखानी पुग्ने भनेपछि पुलमा फोटो खिचाउने रहर पक्कै पलाउँछ ।
यसले पर्यटनको विकासका लागि पनि सहयोग नै पुग्छ भन्ने लागेको छ ।’ पुलको निर्माणका लागि थानी÷बीएलटी जेबीले जिम्मा लिएको थियो ।