बागलुङ : दुई तिहाई नजिकको बहुमत प्राप्त नेकपा अहिले आधा सरकार र आधा सडकमा छ ।
लामो समय देखि पार्टी भित्र मौलाएको आन्तरिक विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिदिएपछि विवादले फुटको रुप धारण गरेको हो ।
प्रचण्ड माधव नेपाल र केपी ओली दुबै खेमाले आफुलाई आधिकारिक दाबी गर्दै आएका छन् ।
संसद विघटनको विरुद्धमा प्रचण्ड नेपाल समुहले मंगलबार देशव्यापी रुपमा विरोध कार्यक्रम गरेका छ । बागलुङमा पनि पचण्ड माधव पक्षका नेकपा नेता कार्यकर्ताले विरोध सभा गरेर राष्ट्रपति र प्रधानमन्त्रीलाई आफुहरु महाराज भएको भ्रम त्याग्न आग्रह गरेका छन् ।
दुई सय ४० वर्ष लामो शासन गरेको राजा त जनताको बलमा फालिएको भन्दै उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले पनि आफुहरु महाराज भएको दम्भ नछोडे जनताले सत्ताबाट सडकमा झार्ने उनीहरुले दाबी गरे ।
विरोध कार्यक्रममा बोल्दै नेकपा स्थायी समिति सदस्य प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रको वैचारिक समस्या समाधान गर्नुको साटो पार्टीका नेता कार्यकर्तालाई लोभ लालच देखाउँदै आफुतिर तान्ने प्रयास गर्ने र पार्टीलाई नमानी मनोमानी गरेको कारण विवाद उत्पन्न भएको बताएका छन् ।
पार्टी नफुटोस् भन्नका लागि आफुहरुले निकै प्रयास गरे पनि प्रधानमन्त्रीको अहंकारका कारण पार्टी दुई खेमामा विभाजित भएको उनले बताए । ‘पार्टी एकता जोगाउनका लागि हामीले निकै प्रयास ग-यौं, यस खालको गलत कदम नचाल्नुस् हामीलाई केही पनि चाँहिदैन भन्यौं,’ उनले भने,‘पार्टीका साथीहरुको कुरा नसुनी दर्जनौं साथीहरुलाई पार्टीको अध्यक्ष अफर गर्ने, मन्त्री त हातहातै दिने, मैले पनि कैयौं पटक मन्त्री पाएँ ।
उहाँ सरकारलाई पार्टीको सिद्धान्त अनुसार भन्दा पनि मनोमानी गरेर चलाउन थाल्नुभयो । त्यसले अहिलेको परिस्थीति सिर्जना गरेको हो ।’
नेकपा केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्च बलावती शर्माले स्थायी सरकारबाट समृद्धिको ढोका खोल्ने भनेर जनतासंग गरेको बाचा प्रधानमन्त्री केपी ओलीले तोडेको आरोप लगाईन् ।
‘प्रधानमन्त्रीको म नै राज्य हुँ र म बाहेक केही हुँदैन भन्ने अहंकारका कारण देश अस्थीरतामा गएको छ,’ उनले भनिन्,‘प्रधानमन्त्रीले संवैधानिक ‘कु’ गर्नुभएको छ । त्यो नसच्याए सडकबाट नागरिकले कलंकको टीका लगाएर विदाई गर्नेछन् ।’
प्रधानमन्त्री सच्चिन तयार नभएको हिँजोको ज्ञानेन्द्रको नियती हुने उनको चेतावनी छ । नेकपा गण्डकी प्रदेश समिति सदस्य श्रीप्रसाद शर्माले जनताको शक्ति अगाडी ठूल ठूला तानाशाह झुक्न बाध्य भएको भन्दै केपी ओलीलाई पनि झुकाएर छोड्ने दाबी गरे ।
‘जनताको अदम्य साहस र शक्तिको शक्तिका सामु दुनियाँका तानाशाह झुकेका छन्,’उनले भने,‘अलि अस्ती सत्तामा पुगेका हाम्रा पूर्व कमरेड केपी शर्मा ओलीसंग त्यति दरिलो खुट्टा छैन । हामीले यीनलाई भोट दिएर पठाएका हौं । भोट दिएका जनता सडमा उत्रेपछि यीनको सत्ता ढल्छ, ढल्छ, ढल्छ र नढली सुखै छैन ।’
नेकपा प्रदेश सदस्य हिराबहादुर केसीले जनताको बलमा सत्तामा पुगेका व्यक्तिहरु धेरै ठूलो भ्रममा परेको बताए । ‘गैरसंवैधानिक तवरबाट जनताको प्रतिनिधित्वको भएको प्रतिनिधि सभा विघटन गरिएको छ,’ म यो सडकबाट विनम्रता पूर्वक भन्न चाहान्छु ।
कमरेड केपी ओली ज्यू महाराज भएको भ्रम त्याग्दिनुस्, कमरेड विद्या भण्डारी ज्यू महारानी भएको भ्रम त्याग्दिनुस् । जन्मसिद्ध महाराज महारानी भएकाहरुलाई त जनताको शक्तिले धूलो चटायो भने तपाईहरुलाई निमेषभरमा सडकमा लिएर पछार्नेछ जनताको शक्तिले ।’ उनले प्रधानमन्त्रीले ठूलो अपराध र गद्दारी गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले सच्चिने या सक्किने दुई मध्ये एक बाटो रोज्न आग्रह गरे ।
नेपाललाई विदेशीको क्रिडास्थल बनाउने योजना अनुसार संसद विघटन भएको उनको भनाई छ । नेकपा प्रदेश सदस्य कुशुम बुढाले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीहरु प्रधानमन्त्रीको जिद्दीपनका कारण धरापमा परेको बताईन् ।
नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता र सचिव ज्ञामनाथ गैरे ‘अनिल’को सञ्चालनमा सम्पन्न भएको थियो ।
( बागलुङ पोस्टबाट)