यु डब्लु एस नेपाल र सहयोगदाताको टोलीद्वारा गुल्मीका विद्यालय अनुगमन तथा स्थानीय सरकारसँग अन्तरक्रिया

गुल्मी। यु डब्लु एस (UWS) नेपाल र सहयोगदाताहरूको संयुक्त टोलीले गुल्मी जिल्लाका विभिन्न विद्यालयको भ्रमण तथा अनुगमन गर्नुका साथै स्थानीय सरकारका प्रतिनिधिसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मंसिर ८ गतेदेखि सुरु भएको भ्रमणमा UWS जर्मनीका कार्यकारी निर्देशक Amelie Von Borries सहित Nina Keul, Goetz Von Borries, Uli Bunk, Eva Wali Foerster Bunk, Jenny Elizabeth McMardo Adams, UWS नेपालका राष्ट्रिय निर्देशक अभिनास झा, कार्यक्रम व्यवस्थापक अशोक घिमिरे, सि. फेलोसिप अफिसर विवेक रत्न शाक्य, भ्रमण कार्यक्रम सहजकर्ता अनुजप्रसाद सिग्देल तथा शिक्षा अधिकृत सुबिना ढुङ्गानासहितको टोली सहभागी थियो।टोलीले इस्मा र मालिका गाउँपालिकाका विभिन्न विद्यालयको स्थलगत भ्रमण तथा अनुगमन गरेको थियो। यस क्रममा विद्यालयको शैक्षिक अवस्था, कार्यक्रमको प्रभावकारिता र संस्थाले सञ्चालन गरिरहेका गतिविधिबारे सरोकारवालासँग छलफलसमेत गरिएको थियो।

भ्रमण टोलीमा सहभागी जर्मनीकी Nina Keul ले आफ्ना दिवंगत श्रीमान् स्टेफनको नाममा निर्माण गरिएको UWS बुल्म स्कुललाई सात वर्षसम्म व्यक्तिगत रूपमा अपनत्व लिई सहयोग गर्दै आएकी थिइन्। उनले यस अवधिमा विद्यालयको जनशक्ति व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक कार्यक्रमको सम्पूर्ण दायित्व बहन गर्दै आएकी थिइन्।

भ्रमणकै क्रममा उनले उक्त विद्यालय औपचारिक रूपमा इस्मा गाउँपालिकालाई हस्तान्तरण गरेकी छन्। उनको योगदानको प्रशंसा गर्दै स्थानीय सरकार तथा विद्यालय परिवारले भव्य स्वागत र सम्मान गरेका थिए।

भ्रमण टोलीले मालिका गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँग पनि UWS नेपालले सञ्चालन गरिरहेका कार्यक्रमको प्रभावकारिताबारे अन्तरक्रिया गरेको थियो।
मालिका गाउँपालिकाले पालिकाको शैक्षिक विकासमा UWS नेपालले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै भ्रमण टोलीलाई स्वागत तथा मायाको चिनो प्रदान गरेको थियो।
UWS नेपालले गुल्मी जिल्लाका मुसिकोट, रेसुङ्गा, इस्मा, मालिका, धुर्कोट, मदाने, छत्रकोट र रुरुक्षेत्र गरी आठ स्थानीय तहमा २४ वटा विद्यालय भवन निर्माण गरी शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुर्‍याउँदै आएको छ।

यसै वर्षदेखि मालिका गाउँपालिका र UWS नेपालको संयुक्त लगानीमा थप ६ वटा विद्यालयमा ‘एजुकेसन प्लस’ (Education Plus) कार्यक्रम लागू गरिएको छ। कार्यक्रमअन्तर्गत तीनवटा माध्यमिक र तीनवटा आधारभूत विद्यालय समेटिएका छन्।

अनुगमन टोलीले कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमध्ये थानपती आधारभूत विद्यालय, ह्वाङ्दी मेहले माध्यमिक विद्यालय र अमर माध्यमिक विद्यालयको स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समूह, छात्रा समूह, विद्यालय अवधारणा समिति, बाल क्लब तथा स्थानीय सरकारका प्रतिनिधिसँग छलफल र अन्तरक्रिया गरिएको थियो।

भ्रमण तथा अनुगमन कार्यक्रमलाई संस्थाका सिनियर स्कुल मोबिलाइजर कृष्णप्रसाद भट्टराई, अञ्जु पुन तथा स्कुल मोबिलाइजर विवेक बाबु ढकाल र विजय मरासिनीले सहजीकरण गरेका थिए।
UWS नेपालले स्थानीय सरकारसँगको सहकार्यमा विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा काम गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय