मुसिकोट गुल्मी,
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. २ मा उपयुक्त र व्यवस्थित खेलमैदान निर्माण तथा बजेट विनियोजनका लागि खड्गदेवी युवा क्लबले मुसिकोट नगरपालिकाको ध्यानाकर्षण गराएको छ। क्लबका अध्यक्ष सागर केसीले नगर प्रमुखसमक्ष निवेदन पेस गर्दै खेलमैदान निर्माणका लागि आवश्यक बजेट र प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो।
वडा नं. २ मा हालसम्म बालबालिका, युवा तथा खेलप्रेमीहरूका लागि नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्ने उपयुक्त खेलमैदानको अभाव रहेको क्लबले जनाएको छ।
व्यवस्थित मैदान नहुँदा स्थानीय युवाहरूले फुटबल, भलिबललगायतका खेलकुद सञ्चालन गर्न सास्ती भोग्नुपरेको अध्यक्ष केसीले बताउनुभयो।
खेलकुदले शारीरिक तथा मानसिक विकास, अनुशासन, नेतृत्व क्षमता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुर्याउने भएकाले खेलमैदान निर्माण अत्यावश्यक सार्वजनिक पूर्वाधार भएको निवेदनमा उल्लेख छ।
नेपालको संविधानको धारा ५७, अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई खेलकुद प्रवर्द्धन र पूर्वाधार निर्माणको कानुनी आधार प्रदान गरेकाले स्थानीय आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ।
यसै सन्दर्भमा क्लबले नगरपालिकालाई वडा नं. २ भित्र खेलमैदान निर्माणका लागि उपयुक्त स्थानको पहिचान र स्थलगत निरीक्षण गर्न आग्रह गरेको छ। साथै, पहिचान गरिएको स्थानको प्राविधिक तथा कानुनी सम्भाव्यता अध्ययन गरी यथाशीघ्र निर्माण प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।
खेलमैदान निर्माण र व्यवस्थापनका लागि सम्बन्धित वडा कार्यालय, नगरपालिका र स्थानीय समुदायबीच आवश्यक समन्वय एवम् सहकार्यको व्यवस्था मिलाउनुका साथै पेस गरिएको निवेदनउपर आवश्यक निर्णय र कार्ययोजना तयार गरी संस्थालाई जानकारी गराउन पनि क्लबले ध्यानाकर्षण गराएको छ।
स्थानीय युवाको खेलकुदप्रतिको रुचि र समग्र सामुदायिक विकासलाई मध्यनजर गर्दै नगरपालिकाबाट यस विषयमा सकारात्मक, जिम्मेवार र परिणाममुखी पहल हुनेमा खड्गदेवी युवा क्लबले विश्वास व्यक्त गरेको छ।


