मुसिकोट गुल्मी,
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँ मैदानमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वसन्त पन्चमीको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका आजिवन सदस्य तथा कार्यक्रम संयोजक सुमेन्द्र सिँह ठकुरीले जानकारी दिनुभयो ।
पृथ्वी माध्यमिक विद्यालय मुसिकोट ३ बडागाउँ मैदानको आयोजना, रुपन्देही मुसिकोट सम्पर्क समाज, नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही, बडागाउँ देउसी भैलो समूह मुसिकोट ४ बडागाउँ हलोगडेको सह आयोजनामा कार्यक्रम गरिएको कार्यक्रम सह संयोजक साबित्रा बिष्ट घिमिरेले जानकारी दिनुभयो ।

पछिल्लो समय देशका विभिन्न अस्पतालहरुमा रगतको अभाव भएकोले , समयमै रक्तदान गरेर अस्पतालको बिस्तारामा रगतको अभावमा छटपटाइरहेका बिरामीहरुको जीवन बचाउनको लागि रक्तदान कार्यक्रम राखिएको पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक टीका घर्तीले बताउनुभयो ।
रगत अभाव र महत्वलाई बुझेर आफूले पनि रक्तदान नै जीवनदान भएकोले रक्तदान गरेमा धर्म प्राप्त गर्न कुनै यज्ञ लगाइरहनु नपर्ने भन्दै दशौँ पटक रक्तदान गरेको समाजसेवी तथा उज्यालो नेपाल पार्टीको तर्फबाट गुल्मीको प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार बन्नुभएका कर्ण बहादुर थापा मगरले बताउनुभयो ।

कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष उदय भट्टराइको टोली बुटवलबाट र
रक्तदाता समाज गुल्मीका अध्यक्ष धुर्व पाण्डेसहित ८ जनाको प्राविधिक टोली रगत सङकलनमा खटिएको थियो ।
कार्यक्रमका संयोजकसमेत रहनुभएका सुमेन्द्र सिँहले आफूले यसपटक २९ औँ रक्तदान गरेको बताउनुभयो । कार्यक्रम सफल पार्नका लागि स्थानिय मधु मल्ल, राम थापा, साधना सिँह, नमिता सिँह, मुसिकोट २ गुल्मीका वडासदस्य देव बहादुर रायमाझी, बिर्सना/सम्झना सिँह, झरनाझरना/वर्षा घिमिरे लगायतले सहयोग गर्नुभएको थियो ।


