माधब खरेल
गुल्मीको मालिका गाउँपालिकामा अवस्थित धार्मिक, पर्यटकीय एवम् प्रसिद्ध तिर्थस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला सम्पन्न भएको छ । मालिका गाउँपालिका वडा नं ५ छापहिलेस्थित लेकपोखरामा पौष २७ गतेदेखि माघ १ गते गरी चारदिनसम्म सञ्चालन भएको मेलाको समापन समारोहमा बुधबार मालिका गाउँपालिकाका अध्यक्ष देबिराम अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
लेकपोखरा माघेसंक्रान्ति मेला व्यवस्थापन समितिको आयोजना चारदिनसम्म चलेको मेलामा राष्ट्रिय कलाकार, सांस्कृतिक कार्यक्रम, कृषि उत्पादन प्रदर्शनी तथा उत्कृष्ट कृषक सम्मान, खुला भलिबल प्रतियोगिता लगाएत कार्यक्रमहरु सम्पन्न भएको मेला आयोजक समितिका संयोजक चन्द्र बहादुर महताराले जानकारी दिए ।
यो क्षेत्रमा ऐतिहासिक लेकपोखरी, ऋषिकेश मन्दिर, मालिका मन्दिर, सिद्धको मन्दिर, उल्टे ओढार, घोडाको छाप तथा विभिन्न रमणीय स्थानहरु रहेका छन् । प्राकृतिक तथा धार्मिक दुवै दृष्टिकोणले यो क्षेत्र प्रसिद्ध रहेको वडाध्यक्ष रेखा कुमारी जिसीले जानकारी दिनुभयो ।
यो मन्दिरमा नागको ठुलो शक्ति रहेको जनविश्वास रहेको छ । मालिका मन्दिरको पुर्ननिर्माणको क्रममा धार्मिक तथा बौद्धिक व्यक्तिहरुसँग छलफल गरिएको थियो । सोही क्रममा वाचन सम्राट पण्डित भिमकान्त पन्थीले यस मन्दिरमा नागको समेत ठुलो शक्ति छ भनी बताएका साथै पूरानो मन्दिर भत्काउने क्रममा मन्दिरभित्र नै नाग भेटिएको अध्यक्ष जिसिले जानकारी दिए ।
लेखपोखरामै अवस्थित तिखेचुलीको डाँडामा सिद्धको मन्दिर रहेको छ । यस मन्दिरमा भाकल गरी मागेको वर पूरा हुने जनविश्वास रहेको छ । नागपञ्चमी र ज्येष्ठ शुक्ल पञ्चमीका दिन यस मन्दिरमा पूजाआजा हुने गर्दछ । यस्तै सिद्धकापाती मन्दिरमा पनि सोही दिन पूजाआजा हुने गर्दछ ।
लेखपोखरा झण्डै ३ सय वर्ष भन्दा अगाडि ज्ञवाली पुर्खाका बालमन्द ऋषिले १ वर्ष सम्म तपस्या गरेको स्थल तथा जंगलमा कन्दमुल मात्र खाएर एउटा चिम्टाको सहायताले लेखपोखरी खनिएको तथा लेखपोखरी खनिएको चिम्टा अहिले सम्म पनि सुरक्षित रहेको छ ।
त्यस समयमा सम्पन्नासाली मानिसहरु विभिन्न चारधाम, मठमन्दिर तिर्थ व्रत गर्न गएका तर विपन्नहरु जान नसक्ने भएपछि सो पोखरी निर्माण गरिएको थियो त्यस पोखरीमा विभिन्न चारधामबाट लिईएको जल मिसाएर स्नान गर्ने गरिएको बताईएको छ ।त्यहाँ गएर स्नान गर्दा चर्मरोग निको हुने, पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
उक्त स्थानमा चार दिनसम्म सञ्चालन भएको माघेसंक्रान्ति मेलामा राष्ट्रिय कलाकार बन्दना पाण्डे , हरि खत्री कलाकार शिला गुरुङ , लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल, मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल, मालिका गाउँपालिका वडा न ६ का पुर्ब वडा अध्यक्ष सोभाखर गिरि , मन्दिर पुजारी मनिराम अर्याल , मालिका गाउँपालिका वडा न ५ का वडा अध्यक्ष रेखा कुमार जि सि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन देबिराम घिमिरेले ले गर्नुभएको थियो ।


