देउवा नेतृत्वको सरकारले आज पूर्णता पाउला ?

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार लामो समयपछि आज विस्तार हुने संभावना देखिएको छ ।

देउवा नेतृत्वको संयुक्त सरकारलाई पूर्णता दिन सत्ता गठबन्धन सम्वद्ध दलका शीर्षनेताहरु मन्त्रीहरुको नाम छनोट गृहकार्यमा जुटेका छन् ।आज साँझसम्ममा नयाँ मन्त्रीहरु नियुक्त भइसक्ने संभावना रहेको छ ।

राजनीतिक दल सम्वन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद विस्तारका लागि शीर्षनेताहरु आन्तरिक गृहकार्य तथा छलफलमा जुटेका हुन ।

नेकपा (एकीकृत समाजवादी) ले सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाएको छ ।मन्त्रीको लागि पार्टीबाट नाम सिफारिस भएकाहरुमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ रहनु भएको छ ।

तनुहँका साँसद किसानकुमार श्रेष्ठ र अछामका सांसद शेरबहादुर कुँवर भने यस पटक मन्त्रीमा समेट्न नसकिएको उहाँले बताउनुभयो ।त्यस्तैं, एकीकृत (माओवादी केन्द्र) नेपालले पनि थप तीनजना मन्त्रीको नाम सिफारिसका लागि आन्तरिक गृह कार्य भइरहेको जनाएको छ ।

माओवादी केन्द्रका नेता देबबहादुर गुरुङले मन्त्रीको नाम सिफारिस गर्ने जिम्मेवारी शीर्ष नेतृत्वलाई दिएको बताउनुभयो ।नेपाली काँग्रेसबाट थप तीनजना मन्त्रीको नाम सिफारिस गर्न प्रधानमन्त्री देउवाले यसअघि नै बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । तर, काँग्रेसमा पनि मन्त्रीका आकांक्षीहरुको संख्या धेरै भएकाले नाम सिफारिस हुन सकेको छैन ।

त्यस्तैं, जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि मन्त्रीहरुको नाम छनोटका लागि आन्तरिक गृह कार्य जारी रहेको जनाएको छ ।गत असार २९ गते गठित वर्तमान सरकारमा काँग्रेसबाट प्रधानमन्त्री सहित सात, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबाट ६–६ जना मन्त्री वाँडफाँड गरिएको छ ।

सत्ता गठबन्धनका पाँच दल मध्ये संयुक्त जनमोर्चा नेपाल भने सरकारमा सहभागी नहुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय