नयाँ मन्त्री थपेपछि कांग्रेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नै प्यानलका सांसदलाई मन्त्री नियुक्त गरेपछि नेपाली काँग्रेसमा हंगमा भएको छ ।

देउवाले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ । पौडेल पक्षले बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बोलाएको छ ।प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफल गर्दै छ । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट देखिएको थियो ।

देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । देउवाले आज आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि कांग्रेसमा खैलाबैला नै मच्चिएको छ ।

परराष्ट्रमन्त्रीमा पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी थियो । उद्योगी विनोद चौधरीले पनि इच्छा राखेका थिए ।

तर देउवाले खड्कालाई रोजेका छन् । सरकारका सन्दर्भमा देउवा एकलौटी अगाडि बढ्न खोजेको भन्दै पौडेल पक्षले आफ्नो रणनीति बनाउने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय