राष्ट्रपति निर्वाचन नजिकिदै, दलहरू अझै अनिर्णित

काठमाडौं। राष्ट्रपति चुनावको मिति नजिकिँदै गर्दा सबैको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। फागुन १३ मा राष्ट्रपतिका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यसूची रहेको छ। मनोनयनको दिन नजिकिएसँगै दलहरूभित्र उम्मेदवार खडा गर्न दबाब सृजना भएको छ ।

साना दलले पनि राष्ट्रपति पदमा आकांक्षा देखाएपनि विशेषगरि एमाले र कांग्रेसले सो पदमा दाबी गरेका छन्। एमालेले नयाँ सरकार बन्दाखेरि नै आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने सहमति भएको अडान राख्दै आएको छ।

राष्ट्रपतिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली बीच कैयौं पटक भेटघाट र छलफल भएको छ । आज पनि छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुग्नु भएको थियो। ओलीसँग भेटेर बाहिरिने क्रममा प्रचण्डले राष्ट्रपतिका विषयमा छिट्टै सहमतिमा पुगिने बताउनुभएको छ । तर, सहमति उहाँले सार्वजनिक खपतका लागि भनेजस्तो सहज भने देखिएको छैन ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली एमालेका उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने सहमति भएको दुनियाँलाई थाहा भएको बताउनुहुन्छ। एमालेले जसलाई प्रस्ताव गर्छ, उसलाई जिताउन सहमति बन्ने सम्भावना छ। अझै पनि च्याप्टर क्लोज भएको छैन,’ ज्ञवालीको दाबी छ ।

गठबन्धनमा अविश्वास बढेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस हौसिएको छ । कांग्रेसले आफूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेको छ ।राष्ट्रपतिमा समर्थन गरे पाँच वर्ष नै प्रधानमन्त्री दिने र आगामी वर्ष रिक्त हुने राष्ट्रिय सभाको अध्यक्ष पनि माओवादीलाई दिन सकिने कांग्रेसको प्रस्ताव छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ लाई पाँचै वर्ष प्रधानमन्त्री दिने बताउनुहुन्छ। कांग्रेसका अर्का नेता प्रदीप पौडेलले एमालेले राष्ट्रपति पदलाई दुरुपयोग गरिरहेको बताउँदै एमालेको दाबी आवश्यक नभएको टिप्पणी गर्नुभएको छ।त्यसो त राष्ट्रपतिमा दलकै नेताभन्दा पनि समाजको एकतालाई एक ठाउँमा ल्याउन सक्ने साझा व्यक्तित्वको खोजी हुनुपर्ने आवाज पनि उठिरहेको छ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले अबको राष्ट्रपतिका लागि दलित र जनजातितर्फ ध्यान दिन प्रमुख दलहरूलाई सुझाव दिनुभएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान कायमै राखेपछि सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेको छ। यदि राष्ट्रिय सहमति नै गर्ने हो भने व्यक्ति कसलाई चयन गर्ने भन्नेबारेमा पनि छलफल हुन सकेको छैन ।

अहिलेसम्म राष्ट्रपतिमा दाबी गर्दै आइरहेका कुनै पनि दलले आफ्नो उम्मेदवार यो हो भन्ने टुंगो पनि लगाउन सकेका छैनन् । एमाले पुस १० को सहमतिअनुसार आफ्नो पार्टीले पाउनुपर्ने अडानमा छ । प्रधानमन्त्री प्रचण्ड ओलीको अडानमा सहमत हुनुभएको छैन । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ का लागि तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय