सामाजिक सञ्जालमा भुवन र साम्राज्ञीको दोहोरी

१८ असार । सामाजिक सञ्जालमा नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच दोहोरी नै चलेको छ । उनीहरूले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायाङ्कनका क्रममा भएको एक अर्काको व्यवहारमाथि टिप्पणी गरिरहेका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले २ दिन अगाडि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि ह्यारेसमेन्ट भएको बताएकी थिइन् । उनले आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम लिएकी छैनन् । तर साम्राज्ञीले बारम्बार आफ्नो डेब्यु चलचित्रमा काम गर्दा आफूमाथि राम्रो व्यवहार नभएको बताउँदै आएकी थिइन् ।

साम्राज्ञीको भिडियो सार्वजनिक भएपछि जवाफ दिँदै नायक भुवन केसीले जुन थालमा खाने त्यही थालमा प्वाल पार्ने भनेर जवाफ दिएका थिए । साम्राज्ञीले भुवनको यो भनाइको पनि जवाफ दिएकी छन् । भिडियोमार्फत जवाफ दिने क्रममा साम्राज्ञीले जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप समेत लगाइन् ।

साम्राज्ञीले भनेकी छन्–‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नुहुँदैन भनेर सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन पनि लागिरहेको थियो । तै पनि म हाँसेरै बोलेकी थिएँ ।’ साम्राज्ञीले अगाडि भनेकी छन्–‘ती कुराहरू केही टाढा बसेर पनि भन्न सकिन्छ नि । गाला जोडेर, टाँस्सिएर भन्नुपर्छ र ? छोएर अब यस्तो नगर है भन्दै गालामा मुख जोडेरै भन्नुपर्छ र ।’

साम्राज्ञीले भुवन केसीलाई ‘अंकल’ भनेको मन नपर्ने भन्दै आफूले ‘दाइ’ भन्ने गरेको पनि बताएकी छन् । साम्राज्ञीले आफ्नो भिडियोमा भुवन केसीको नाम भने उच्चारण गरेकी छैनन् । तर उनले लेखेको स्टाटसमा आक्रोश व्यक्त गर्दै जवाफ दिएकी उनले भुवनलाई नै संकेत गरेको देखिन्छ । उनले आफूमाथि राम्रो व्यवहार भएको भए यस्तो दिन नै नआउने भन्दै आक्रोश पोखेकी छन् । नायक भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘ड्रिम्स’ मार्फत नायिका शाहले डेब्यु गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय