समिट होटल र बुढानिलकण्ठको ‘गोप्य’ भेटपछि देउवालाई प्रचण्डको नयाँ प्रस्ताव, राष्ट्रिय सरकार बनाऔं

काठमाडौं । मंसिर १९ गते सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुढानिलकण्ठमा आधा घन्टा विशेष कुराकानी भयो । सर्वदलीय बैठक र प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकबाहेक देउवा र प्रचण्डबीच गत असारपछि पहिलो पटक बिहीबार भेटवार्ता भएको हो ।

यसबीचमा प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा निरूपणका विषयमा देउवासँग भेट्ने प्रयास गरे पनि दशैं, तिहार, छठलगायत पर्व तथा पार्टीका बैठकमा देउवा व्यस्त भएकाले सम्भव भइरहेको थिएन ।

प्रचण्डले धेरै नै जोडबल गरेपछि गत १२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा प्रचण्ड र देउवाबीच ‘एक्लाएक्लै’ गोप्य भेटवार्ता भएको थियो । वार्तामा प्रचण्डले संवैधानिक परिषद्को बैठकमा प्रतिपक्षी दलको नेता उपस्थित हुनै पर्ने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि पहल गर्ने वचन दिएका थिए । तर प्रचण्डले यो कुरा ओलीसमक्ष राखेनन् या राख्न सकेनन् ? अहिलेसम्म खुलेको छैन ।

सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमै बहुमत सदस्य भए संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गर्नसक्ने गरी विधेयक संशोधन संसदमा दर्ता गराएको छ । सरकारको यो निर्णयको कांग्रेसले कडा आपत्ति जनाएको छ ।

बुढानिलकण्ठस्थित निवासमा भएको भेटमा देउवालाई प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव गरेका थिए । तर, यतिबेला यो प्रस्ताव किन आयो भन्ने विषयमा कांग्रेस गम्भीर देखिएको छ । समाचार स्रोतका अनुसार करिब आधा घन्टाको भेटमा प्रचण्डले स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय सहमतिको सरकार गठन होस् भन्ने आफ्नो चाहना रहे पनि परिस्थितिले त्यसअघि नै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ कि जस्तो देखिएको संकेत गरेका थिए । नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकारले मात्रै कालापानीलगायतका सीमा अतिक्रमणका समस्या समाधान गर्नसक्ने संकेत गर्दै आफू छिट्टै प्रधानमन्त्री हुन गइरहेको प्रचण्डले दाबी गरे । प्रधानमन्त्री पद हस्तान्तरण गर्न नदिन ओलीमाथि शक्तिकेन्द्रको दबाब आए पनि ओलीको स्वास्थ्यका कारण त्यो दबाबले काम नगर्ने भन्दै छिट्टै प्रधानमन्त्री बन्नेमा प्रचण्ड आशावादी देखिए ।

यदि कुनै कारणवश प्रधानमन्त्री पद रिक्त भयो भने तत्कालीन एमाले पंक्तिले अरु कसैलाई अघि सार्ने र त्यसबेला कठोर कदम चाल्न आफू बाध्य हुने कुरा प्रचण्डले निकटस्थहरूलाई बताएका छन् । देउवासँगको भेटमा पनि प्रचण्डले यो संकेत गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय