कुलमान र सांसद मोदी बीचको सहमति पछि आयोजना सम्पन्न, रंगेली र कटहरी क्षेत्रको विद्युत नियमित हुने

काठमाण्डौ : लामो समयदेखि विवादमा रहेको दुहवी–कटहरी विद्युत प्रसारण लाइनको निर्माण कार्य सकिएको छ। मोरङको गिधनिया वस्तीमा भएको अवरोधका कारण १३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनको काम रोकि एको थियो । तर अवरोध भैरहेको गिधनिया क्षेत्रमा पछिल्लो हप्तादेखि सुरु भएको काम सोमबार सकिएको हो ।

यही प्रसारण लाइनको विषयलाई लिएर गएको जेठ ७ गते मोरङका सांसद अमनलाल मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमै बाझाबाझ भएको थियो । सांसद मोदीले ट्रंक लाइन मार्फत बिजुली दिँदा साढे ९ अर्ब भ्रष्टाचार भएको र घिसिङले त्यसलाई संरक्षण गरेको आरोप लगाउनुभएको थियो ।

जवाफमा कार्यकारी निर्देशक घिसिङले सांसद मोदीले अवरोध गरेका कारण दुहवी– कटहरी प्रसारण लाइनको काम पूरा नभएको आरोप लगाउनु भएको थियो । सांसद मोदीले नै प्रशारणलाइन निर्माणमा अवरोध गरेको आरोप पनि लागेको थियो। त्यसपछि कात्तिक १ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, मोरङ ४ का सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच काम अघि बढाउने र मोदीले सहयोग गर्ने सहमति भएको थियो ।

तर प्रसारण लाइनका कारण बस्तीमा समस्या आउन सक्ने भन्दै स्थानीयले विरोध गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालयले सुरक्षाको लागि प्रहरी पठापछि काम काम सकिएको हो । पछिल्लो एक हप्तामा गिधनिया बस्तीको २ दशमलव ८ किलोमिटर क्षेत्रमा अन्डरग्राउण्ड तार बिच्छ्याउने काम सकिएको नेपाल विद्युत प्राधिकरण १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेले जानकारी दिनुभयो। ‘प्रसारण लाइनको तार अन्डरग्राउन्ड गर्ने काम सकिएको छ, अबको २ हप्ताभित्र कटहरीको सबस्टेशन चार्ज थाल्छौं’ पाण्डेले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय